जुम्ला । जुम्लामा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक हप्ते निःशुल्क वृहत् योग तथा ध्यान शिविर सुरु भएको छ । चन्दननाथ नगरपालिका र चन्दननाथ योग साधना केन्द्रको संयुक्त आयोजनामा टुडिखेल मैदानमा शिविर सञ्चालनमा आएको हो । वैशाख १५ देखि २१ गतेसम्म सञ्चालन हुने शिविरमा हरेक दिन बिहान ५ देखि ७ बजेसम्म योग तथा ध्यान अभ्यास गराइनेछ । सहभागीहरूलाई दक्ष योगगुरुबाट योग प्रशिक्षण दिइनुका साथै हवन चिकित्सा, जडीबुटी युक्त काढा तथा सिलाजित सेवनको व्यवस्था गरिएको छ ।
चन्दननाथ योग साधना केन्द्रका मुख्य योगगुरु नन्दप्रसाद चौलागाईंका अनुसार शिविरमा निःशुल्क स्वास्थ्य परीक्षणसमेत भइरहेको छ। यसअन्तर्गत रक्तचाप, मधुमेह (सुगर) जाँच, उचाइ–तौल मापन तथा स्वस्थ जीवनशैलीसम्बन्धी परामर्श सेवा प्रदान गरिँदैछ । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले दुईवटा स्वास्थ्य जाँच स्टेसनको व्यवस्था गरेको छ । साथै ज्येष्ठ नागरिकलगायत सहभागीका लागि व्यक्तिगत सरसफाइ प्रवर्द्धन गर्न निःशुल्क दाह्री–कपाल काट्ने सेवा पनि उपलब्ध गराइएको छ । शिविरमा सहभागीलाई गेडागुडीबाट तयार गरिएको क्वाँटी तथा अमृत भोजन वितरण गरिँदै आएको छ । साथै योग साधना केन्द्रको हलमा जलनेती, कुञ्जल, शंखप्रक्षालन र बाफ मसाजजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।
शिविरको पहिलो दिन दर्जनौँ स्थानीयवासी तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो। आयोजकले सबै नागरिकलाई शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन आग्रह गरेका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले चन्दननाथ नगरपालिकासँगको सहकार्यमा हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलले योग तथा ध्यानले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।



कार्यविधि संवाददाता । १५ बैशाख २०८३, मंगलवार १६:४० बजे