सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आज बिहान ९:०० बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर सुर्खेतमा बस्दै महत्वपूर्ण निर्णय गरेको छ । बैठकले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालअन्तर्गत आठौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जाेसी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा प्रस्तुत कार्यसूची प्रस्ताव अनुसार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशन मिति २०८३ साल वैशाख २८ गते सोमबार दिउँसो ३:०० बजे आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ ।
प्रदेश सरकारका अनुसार आगामी अधिवेशनमा प्रदेश सरकारका नीति तथा कार्यक्रम, बजेट तयारी, समसामयिक राजनीतिक विषय, विकास निर्माणका योजना तथा प्रदेशसँग सम्बन्धित विभिन्न विधेयकमाथि छलफल हुने अपेक्षा गरिएको छ । अधिवेशन आह्वानसँगै प्रदेशसभामा राजनीतिक गतिविधि थप सक्रिय हुने विश्वास गरिएको छ । प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्र कुमार यादवद्वारा जारी सूचनामा बैठकको निर्णय निर्देशानुसार सार्वजनिक गरिएको उल्लेख छ ।
अधिवेशन आह्वानको सिफारिसपछि अब प्रदेश प्रमुखबाट औपचारिक आह्वान हुने प्रक्रिया अघि बढ्नेछ । कर्णाली प्रदेशको समग्र विकास, नीति निर्माण तथा जनसरोकारका विषयमा प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सन्दर्भमा आगामी आठौं अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । प्रदेश सरकार तथा प्रदेशसभा दुवै पक्षले जनअपेक्षाअनुसार प्रभावकारी निर्णय र कार्यक्रम अघि बढाउने तयारी थालेका छन् ।



कार्यविधि संवाददाता । १५ बैशाख २०८३, मंगलवार १७:१२ बजे