कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरु

सुर्खेत ।  बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी, घरेलु हिंसा, यौन दुर्व्यवहार तथा मानव बेचबिखनजस्ता सामाजिक कुरीतिविरुद्ध सचेतना र आवाज सशक्त बनाउने उद्देश्यले कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरु भएको छ । शनिबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले वीरेन्द्रनगरमा आयोजित सम्मेलनको उद्घाटन गर्नुभयो। श्री ज्योति फाउन्डेशनको आयोजनामा सञ्चालन भएको दुईदिने सम्मेलन आइतबारसम्म चल्नेछ ।

सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहबाट दुई–दुई जना प्रतिनिधिका रूपमा छोरीहरूको सहभागिता रहेको छ । साथै राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरू, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक एवं यौनिक अल्पसंख्यक समुदायका सहभागी गरी २५० भन्दा बढीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

सम्मेलनमा लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडीजस्ता विषयमा व्यापक छलफल गरिनेछ। छलफलबाट प्राप्त सुझाव र निष्कर्षलाई तीनै तहका सरकारसमक्ष नीतिगत सुझावका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन संघर्ष, अनुभव र सफलताका कथा साझा गर्नेछन् । साथै विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने तथा विभिन्न विषयमा प्यानल छलफलसमेत सञ्चालन हुने कार्यक्रम रहेको छ ।

श्री ज्योति फाउन्डेशनले गत वर्ष पहिलो पटक कर्णाली छोरी सम्मेलन आयोजना गरेको थियो । पहिलो सम्मेलनपछि प्रदेशस्तरीय कर्णाली छोरी सञ्जाल गठन गरिएको थियो भने ७९ वटै स्थानीय तहमा पालिकास्तरीय छोरी सञ्जाल विस्तार गरी छ सय ६९ जना छोरीलाई सञ्जालमा आबद्ध गरिएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले जाजरकोट भूकम्पबाट प्रभावित तथा आर्थिक रूपमा विपन्न छोरीहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्ति कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। कार्यक्रमअन्तर्गत हरेक वर्ष १५ जना भूकम्पपीडित र १५ जना विपन्न छोरीलाई कक्षा १२ सम्म अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।