फुलबारी टोलमा मध्यराति प्रहरीको छापा, जुवातास खेल्दै गरेका ८ जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–७ फुलबारी टोलमा रातिको समयमा गोप्य रूपमा सञ्चालन भइरहेको जुवातासको खेलमा प्रहरीले छापा मार्दै ८ जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति जनक रोकायको घरमा हारजित हुने गरी नगद राखेर जुवा खेल भइरहेको भन्ने विशेष सूचनापछि कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घरमा आकस्मिक छापा मारेको हो ।

प्रहरी टोली पुग्दा घरभित्र तासको खाल बिछ्याएर रकमको बाजी थापिएको अवस्थामा खेल चलिरहेको भेटिएको प्रहरीले जनाएको छ । छापामार कारबाहीका क्रममा प्रहरीले नगद ९५ हजार १ सय ६६ रुपैयाँ, तासका ६ गड्डी र ९ थान मोबाइल बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा जुम्ला सिजा गाउँपालिकाका विभिन्न वडाका स्थायी बासिन्दा भई हाल वीरेन्द्रनगर–७ मा बसोबास गर्दै आएका मनबहादुर बुढा, लक्ष्मण रोकाय, लालबहादुर बुढा, लङ्कबहादुर बुढा, गम्भीर रावत, विष्णु बुढा, हरिबहादुर रोकाय तथा घरधनी जनक रोकाय रहेका छन् ।

सुर्खेत प्रहरीले पक्राउ परेकामाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ । पछिल्लो समय शहरी क्षेत्रमा गोप्य रूपमा जुवातास खेलाउने गतिविधि बढ्न थालेपछि प्रहरीले निगरानी कडा बनाएको बताइएको छ ।