व्यावसायिक आलुखेती सुरु, युवा कृषकमा नयाँ उत्साह

हुम्ला  ।  समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका छ  स्थित हिमालपारिको गाउँ लिमीमा व्यावसायिक आलुखेती सुरु गरिएको छ । वर्षौंदेखि बाँझो रहँदै आएको खेतीयोग्य जमिनमा स्थानीय युवाले कृषि अभियान थालेपछि गाउँमा नयाँ आशा जागेको छ । चार वर्षदेखि उपयोगविहीन बनेको लिमीको जाङ गाउँस्थित जमिनमा यस वर्ष तीन जना स्थानीय युवा मिलेर व्यावसायिक आलुखेती सुरु गरेका हुन् । परम्परागत रूपमा थोरै मात्रामा खेती हुँदै आएको क्षेत्रमा अहिले योजनाबद्ध रूपमा आलु उत्पादन थालिएको स्थानीय युवा कृषक कुन्चोक लामाले जानकारी दिए ।

उनका अनुसार हाल चार रोपनी जमिनमा स्थानीय जातको आलु लगाइएको छ । खेतीका लागि करिब आठ क्विन्टल आलुको बीउ रोपिएको छ भने आगामी वर्षदेखि खेतीको क्षेत्रफल अझ विस्तार गर्ने तयारी गरिएको छ । हाम्रो गाउँको जमिन उर्वर छ, यहाँ उत्पादन हुने आलुको स्वाद पनि निकै राम्रो हुन्छ उनले भने  यदि उत्पादन राम्रो भयो भने ताक्लाकोट हुँदै काठमाडौंसम्म लिमीको आलु पुर्‍याउने लक्ष्य छ । उच्च हिमाली क्षेत्रमा उत्पादन हुने आलु स्वादिष्ट, पोषणयुक्त र जैविक गुणले भरिपूर्ण हुने भएकाले यसको बजार सम्भावना पनि राम्रो रहेको कृषकहरूको विश्वास छ ।

स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्न सके हिमाली बस्तीका युवालाई गाउँमै रोजगारी सिर्जना हुने र पलायन रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । व्यावसायिक खेती सुरु भएपछि नाम्खा गाउँपालिकाको कृषि शाखाले पनि किसानलाई प्रोत्साहन गरेको छ । गाउँपालिकाले वडा नम्बर पाँच यारीबाट स्थानीय जातको आलुको बीउ खरिद गरी लिमीका किसानलाई उपलब्ध गराएको जनाएको छ । यसले दुर्गम हिमाली क्षेत्रमा कृषि व्यवसाय विस्तार गर्न स्थानीय सरकारको चासो बढ्दै गएको देखिएको छ ।

कृषकहरूका अनुसार लिमी क्षेत्रमा खेत जोत्न अझै पनि झोपा (चौँरी र गाईको मिश्रित जात) प्रयोग गरिँदै आएको छ । कठिन भौगोलिक अवस्था र श्रम अभावका कारण खेती गर्न चुनौती रहे पनि अब आधुनिक कृषि प्रविधि अपनाउने तयारी गरिएको छ । आगामी वर्षदेखि खेत जोत्न सानो कृषि मेसिन प्रयोग गर्ने योजना बनाइएको कुन्चोक लामाले बताए । स्थानीयवासीले हिमाली क्षेत्रमा परम्परागत खेतीलाई आधुनिक र व्यावसायिक बनाउने प्रयासले गाउँको आर्थिक अवस्था सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

लामो समयदेखि आयातित खाद्यान्नमा निर्भर बन्दै गएको लिमीमा आफ्नै उत्पादन बढाउन सके आत्मनिर्भर बन्ने आधार तयार हुने स्थानीयको भनाइ छ । दुर्गम हिमाली भूगोल, चिसो मौसम र सीमित स्रोत–साधनका बाबजुद युवाले सुरु गरेको यो पहलले हुम्लामा कृषि सम्भावनाको नयाँ उदाहरण प्रस्तुत गरेको छ । स्थानीय सरकारको सहयोग, बजार पहुँच र आधुनिक प्रविधिको प्रयोग बढाउन सके हिमाली क्षेत्रका कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न थप टेवा पुग्ने देखिएको छ ।