राष्ट्रपति रनिङ शिल्डमा शारदा नगरपालिका प्रथम

सल्यान ।  १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शारदा नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ । नगरपालिकाले १२ स्वर्ण, १० रजत र छ  कांस्यसहित कुल २८ पदक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । प्रतियोगितामा छत्रेश्वरी गाउँपालिका आठ स्वर्ण, चार रजत र सात कांस्यसहित १९ पदकका साथ दोस्रो भयो भने बन्गाड कुपिण्डे नगरपालिका सात स्वर्ण, छ रजत र १९ कांस्यसहित ३२ पदक जित्दै तेस्रो स्थानमा रह्यो ।

यसअघि पनि शारदा नगरपालिकाले १५औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड उपाधि जितेको थियो, जसले निरन्तर उत्कृष्ट प्रदर्शनलाई पुष्टि गरेको छ । प्रतियोगितामा बागचौर नगरपालिका, कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका, कालीमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कुमाख गाउँपालिका र सिद्धकुमाख गाउँपालिकासहित जिल्लाका १० स्थानीय तह सहभागी थिए ।

बन्गाड कुपिण्डे नगरपालिका एक देवस्थलस्थित राताचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा करिब आठ सय विद्यार्थी खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी र मार्सल आर्टलगायतका विधामा प्रतिस्पर्धा गरेका थिए । जिल्ला खेलकुद विकास समिति सल्यानका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि छनोट गरिनेछ। उद्घाटन प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले गरेका थिए ।