हिल्सामा नेपाल–चीन सीमास्तम्भको अनुगमन

हुम्ला । नेपाल–चीन सिमाना क्षेत्र हिल्सामा स्थापना गरिएका सीमास्तम्भहरूको अनुगमन गरिएको छ । जिल्ला सुरक्षा समितिका संयोजकसहितको टोलीले उत्तरी नाका हिल्सा पुगेर संयुक्त रूपमा सीमास्तम्भहरूको स्थलगत निरीक्षण गरेको हो । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार हिल्सा क्षेत्रमा रहेका सीमास्तम्भहरू व्यवस्थित र सुरक्षित अवस्थामा रहेका छन् । उनले सीमास्तम्भको नियमित अनुगमन गर्नु सुरक्षा समितिको जिम्मेवारीभित्र पर्ने बताउँदै यसलाई निरन्तरता दिइने जानकारी दिए ।

हिल्सा क्षेत्रमा नेपाल र चीनबीचको सीमा निर्धारणका लागि सातदेखि १० नम्बरसम्मका सीमास्तम्भ स्थापना गरिएका छन् । तीमध्ये आठ, नौ र १० नम्बरका सीमास्तम्भको टोलीले अनुगमन गरेको हो । यसअघि हिल्सामा तैनाथ सशस्त्र प्रहरी चौकीका सुरक्षाकर्मीले नियमित रूपमा सीमास्तम्भको निरीक्षण गर्दै आएका थिए । यस पटक भने जिल्लास्तरबाटै उच्चस्तरीय टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले नेपालतर्फको हिल्सा बजार क्षेत्रको समेत निरीक्षण गरेको थियो । हाल नारा लेक क्षेत्रमा जमेको हिउँ हटाएर हिल्सा–सिमकोट सडक सञ्चालनमा आएपछि हिल्सामा मानिसको आवतजावत बढ्दै गएको छ ।

साथै नेपाली व्यापारी तथा कामदारहरू चीनको ताक्लाकोटतर्फ जाने क्रम पनि बढेको छ । सीमाक्षेत्रमा चहलपहल बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी रेग्मीले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन हिल्सास्थित दुवै प्रहरी चौकीलाई निर्देशन दिएका छन् । टोलीले यारी–नारा हुँदै हिल्सासम्मको सडक अवस्थाको समेत अनुगमन गरेको थियो । अनुगमन टोलीमा जिल्ला सुरक्षा समितिका सदस्यहरू, प्रहरी नायब उपरीक्षक शंकर खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक पुष्करबहादुर सिंह, राष्ट्रिय अनुसन्धान प्रमुख मेघराज कँडेल तथा हिल्सा–सिमकोट सडक योजनाका इन्जिनियर कुशल बराल सहभागी रहेका थिए ।