जुम्ला । अम्बिका श्रेष्ठ ले सीप, मेहनत र आत्मविश्वासका बलमा जुम्लामै पहिलो गार्मेन्ट उद्योग सञ्चालन गर्दै सफल महिला उद्यमीको परिचय बनाएकी छन् । श्रवण समस्या भएकी उनी अहिले वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने उद्यमीका रूपमा स्थापित भएकी छन् । चन्दननाथ नगरपालिका पाँच निवासी अम्बिकाले सुरुमा घरेलु तथा साना उद्योग मार्फत सिलाइकटाइ तालिम लिएकी थिइन् । पछि तत्कालीन शिप विकास कार्यालयमा प्रशिक्षकको अवसर पाए पनि कार्यालय खारेज भएपछि रोजगारी गुमाउनुपरेको थियो ।
त्यसपछि केही समय मानसिक तनावमा रहेकी उनले सानो टेलरिङ पसलबाट पुनः यात्रा सुरु गरे । जुम्लामा नियमित विद्युत् आपूर्ति हुन थालेपछि उनले दुई वटा विद्युत् सिलाइ मेसिनबाट आफ्नै घरमा गार्मेन्ट व्यवसाय सुरु गरे । अहिले उनकाे हिमालयन गार्मेन्ट उद्योग मा १२ वटा विद्युत् सिलाइ मेसिन सञ्चालनमा छन् । गार्मेन्ट उद्योगमा विद्यालय पोसाकसहित विभिन्न कपडाको सिलाइ–कटाइ हुने गरेको छ । उद्योगमार्फत १० जना महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् । कामको आधारमा पारिश्रमिक दिइने व्यवस्था गरिएको छ । उद्योग विस्तारसँगै अम्बिकाले सदरमुकाममा घडेरी समेत खरिद गर्न सफल भएकी छन् ।
उनले थप १२ लाख रुपैयाँ लगानी गरेर व्यवसाय विस्तार गरेकी हुन् । उद्योग सञ्चालनमा उनका छोरा सरोजले व्यवस्थापन, हिसाब–किताब र अर्डर व्यवस्थापनमा सहयोग गर्दै आएका छन् । उद्योगले राम्रो प्रगति गरेपछि विभिन्न निकायबाट सहयोग पनि प्राप्त भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रममार्फत करिब आठ लाख रुपैयाँ लागतको कपडा धुने मेसिनमा पाँच लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो ।
उक्त वाशिङ मेसिन सञ्चालनमा आएपछि तीन महिनामै मासिक करिब दुई लाख २५ हजार रुपैयाँ आम्दानी हुन थालेको अम्बिकाले बताइन् । यसबाट थप दुई जना महिलाले रोजगारी पाएका छन् । साथै कार्यक्रममार्फत ५० हजार रुपैयाँ बराबरको विद्युत् सिलाइ मेसिनसमेत सहयोग गरिएको छ । स्थानीय जनप्रतिनिधिका अनुसार अम्बिकाको मेहनत, लगनशीलता र आत्मविश्वासले जुम्लाका अन्य महिलालाई पनि स्वरोजगार र उद्यमशीलतातर्फ प्रेरित गरेको छ ।



कार्यविधि संवाददाता । ३१ बैशाख २०८३, बिहीबार १२:५९ बजे