डोल्पामा कालाजार तथा छाला रोग पहिचान अभियान सुरु

डोल्पा ।  हिमाली जिल्ला डोल्पामा कालाजार तथा छाला रोगको पहिचान र नियन्त्रणका लागि स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको छ । नेपाल सरकारको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य शाखा तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त आयोजनामा क्याम्प सञ्चालन गरिएको हो । क्याम्पमार्फत कालाजार रोगको परीक्षण, रोग सार्ने भुसुना संकलन तथा छालामा देखिने कालाजारसम्बन्धी अनुसन्धानात्मक परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।

बुधबार ठूलीभेरी नगरपालिकामा सञ्चालन गरिएको क्याम्पमा ४४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा एक जना उपचार गरिसकेका कालाजार संक्रमित फेला परेका छन् भने १३ जनामा छालामा हुने कालाजारको शंकास्पद लक्षण देखिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कालाजार अनुसन्धान कार्यक्रम प्रमुख सुरेन्द्र उराँवले जानकारी दिए ।

त्यसैगरी बिहीबार त्रिपुरासुन्दरी एक  त्रिपुराकोटमा सञ्चालन गरिएको शिविरमा ५७ जनाले सेवा लिएका छन् । त्यहाँ नाै जनामा छाला सम्बन्धी कालाजारको समस्या देखिएको जनाइएको छ । स्वास्थ्यकर्मीका अनुसार कालाजार रोगको अवस्था अध्ययन, संक्रमितको पहिचान तथा रोग नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लाका विभिन्न स्थानमा यस्ता स्क्रिनिङ क्याम्प सञ्चालन गरिनेछ ।