सुर्खेत । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतको अध्यक्षमा नविन शाही निर्वाचित भएका छन् । बुधबार वीरेन्द्रनगरमा सम्पन्न मञ्चको दोस्रो साधारण सभाले शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमा केसी, सचिवमा अप्सरा विष्ट, सहसचिवमा नविन सुवेदी तथा कोषाध्यक्षमा सिर्जना बुढाथोकी चयन भएका छन् । यस्तै सदस्यहरूमा मिलन श्रेष्ठ,राकेश पौडेल, तिलक, र भावना राना रहेका छन् ।
साधारण सभामा बोल्दै निवर्तमान अध्यक्ष भानुभक्त अधिकारीले खेलकुद पत्रकारिताको महत्व, जिम्मेवारी तथा चुनौतीबारे धारणा राखेका थिए । उनले खेल क्षेत्रको विकास र खेलाडीको पहिचान स्थापित गर्न खेल पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले कर्णालीका खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुर्याउन तथा खेलाडीहरूको प्रोफाइल निर्माणमा खेलकुद पत्रकार मञ्चसँग सहकार्य गर्न परिषद् तयार रहेको बताए ।
उनले कर्णालीका लोपोन्मुख तथा परम्परागत खेलहरूको संरक्षण र प्रवर्द्धनका लागि पत्रकारहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । साथै आगामी दिनमा कर्णालीमा ‘पल्सर स्पोर्ट्स अवार्ड’ आयोजना गर्ने योजना रहेको जानकारी पनि दिए । नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय प्रतिनिधि तथा सदस्य नविन लुइटेलले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन खेल पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए । उनले मोफसलमा खेल पत्रकारिताको विकासका लागि क्षमता अभिवृद्धि तालिम, फेलोसिप तथा खोजमूलक रिपोर्टिङलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।
पुराना खेलाडीहरूको योगदान उजागर गर्न खेलकुद विकास परिषद्ले नै विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले सुर्खेतमा लामो समयदेखि खेलकुदसम्बन्धी रिपोर्टिङ हुँदै आएको उल्लेख गर्दै मोफसलमा विधागत पत्रकारिता गर्न चुनौतीपूर्ण अवस्था रहेको बताए । उनले पछिल्लो समय सरकारले मिडिया र पत्रकारितालाई कमजोर बनाउने खालका गतिविधि गरिरहेको आरोपसमेत लगाए । साथै लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयले प्रदेशका सञ्चारमाध्यम थप समस्यामा परेको उनको भनाइ थियो ।



कार्यविधि संवाददाता । ६ जेष्ठ २०८३, बुधबार १५:०२ बजे