धुलाचौर बन्दले विद्यार्थी र बिरामी समस्यामा

हुम्ला ।  तीन दिनदेखि बन्द रहेको कर्णाली करिडोरअन्तर्गत बाजुराको धुलाचौर खण्डका कारण विद्यार्थी, बिरामी तथा सर्वसाधारण यात्रु समस्यामा परेका छन् । बाजुरा र हुम्लाको लाम्पाटा–च्याचौर सीमाविवादपछि बाजुराको हिमाली गाउँपालिकाका स्थानीयले यातायात सेवा बन्द गरेपछि सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका हुन् । सर्केगार्ड गाउँपालिका–रिप स्वास्थ्य चौकीका इन्चार्ज चन्द्रसिंह कार्कीका अनुसार कक्षा ११ को परीक्षा दिन हिँडेका ११ जना विद्यार्थी तीन दिनदेखि धुलाचौर क्षेत्रमा रोकिएका छन् ।

तीमध्ये चार जना मानसरोवर माध्यमिक विद्यालय परीक्षा केन्द्र र तीन जना हिमज्योति माध्यमिक विद्यालय सर्केगार्ड परीक्षा केन्द्रका परीक्षार्थी रहेका छन् ।  हाल कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन भइरहेकाले विद्यार्थी थप चिन्तित बनेका छन् । त्यसैगरी, ताँजाकोट गाउँपालिकाले शिक्षक पदपूर्तिका लागि आह्वान गरेको विज्ञापनअन्तर्गत परीक्षा दिन हिँडेका १५ जना परीक्षार्थी पनि बाटोमै रोकिएका छन् । परीक्षा शनिबार र आइतबार हुने तय भए पनि यातायात अवरुद्ध हुँदा उनीहरू गन्तव्यसम्म पुग्न सकेका छैनन् । धुलाचौरमा रोकिएका यात्रु राम टमटाका अनुसार एक जना परीक्षार्थी शुक्रबार बिहानै पैदल यात्रा गरेर ताँजाकोटतर्फ लागेका छन् ।

बन्दका कारण बिरामीहरू पनि मारमा परेका छन् । सर्केगार्ड गाउँपालिकाका तीन जना दमका बिरामी उपचारका लागि यात्रा गरिरहेका बेला बाटोमै रोकिएका छन् । यात्रुहरूले खान, बस्न तथा औषधिको समेत समस्या भइरहेको गुनासो गरेका छन् । त्यसैगरी, चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही पनि दुई दिनदेखि धुलाचौरमै रोकिएको जनाइएको छ । स्थानीयका अनुसार हाल धुलाचौर क्षेत्रमा दुई सयभन्दा बढी यात्रु र ७० भन्दा बढी सवारीसाधन अलपत्र अवस्थामा छन् ।

विवाद समाधानका लागि माली गाउँपालिकाले स्थानीय युवासँग वार्ता गरिरहेको भए पनि हालसम्म कुनै निष्कर्ष निस्किएको छैन । बाजुराका स्थानीयलाई सीमाक्षेत्र लाम्पाटा–च्याचौरमा हुम्लाका स्थानीयले कुटपिट गरी घाइते बनाएको विरोधमा गत बुधबारदेखि धुलाचौर खण्ड बन्द गरिएको हो । सडक अवरुद्ध हुँदा कर्णाली करिडोर भएर हुने दैनिक आवतजावत, खाद्यान्न ढुवानी तथा अत्यावश्यक सेवा समेत प्रभावित बनेका छन् । स्थानीयले तत्काल समस्या समाधान गरी सडक सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।