मुगु । छायाँनाथ रारा नगरपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको सार्वजनिक सुनुवाइ तथा खुला सडक बहस कार्यक्रम यस वर्ष पनि सम्पन्न गरेको छ । नगरप्रमुख विष्णुकुमार भामको नेतृत्वमा गमगढी बजारस्थित खुला सडकमा आयोजित कार्यक्रममा नगरपालिकाले चार वर्षमा गरेका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी उपलब्धि सार्वजनिक गरेको हो । ‘समृद्ध छायाँनाथ रारा नगरपालिका, समृद्ध नगरवासी’ भन्ने नारासहित आयोजित कार्यक्रममा जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद गराइएको थियो । कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटन, विद्युत, रोजगार तथा सामाजिक क्षेत्रका योजनाबारे समीक्षा प्रस्तुत गरिएको थियो ।
नगरप्रमुख विष्णुकुमार भामले स्थानीय सरकार नागरिकप्रति उत्तरदायी, पारदर्शी र जवाफदेही हुनुपर्ने मान्यता अनुसार हरेक वर्ष सार्वजनिक सुनुवाइ गर्दै आएको बताए । उनले जनतासामु आफूहरूले गरेका कामको प्रत्यक्ष हिसाब दिनुपर्ने जिम्मेवारीबोधका साथ खुला सडक बहस आयोजना गरिँदै आएको उल्लेख गरे । नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो चार वर्षमा ३२ स्थानमा विद्यालयका पक्की भवन निर्माण गरिएको छ । साथै रारा क्याम्पसको १२ कोठे भवन निर्माण, ३४ विद्यालयमा शौचालय निर्माण तथा विद्यालय व्यवस्थापन सुधार कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
खानेपानीतर्फ ‘एक घर एक धारा’ अभियानअन्तर्गत ४५ स्थानमा योजना सञ्चालन गरिएको छ । त्यस्तै २६ स्थानमा कृषि योग्य तथा बाँझो जमिन सुधार गरी कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । पूर्वाधार विकासअन्तर्गत विभिन्न वडामा आरसीसी सडक, सिँढी, तटबन्ध, नदी नियन्त्रण, झोलुंगे पुल तथा मोटरेबल पुल निर्माण गरिएको जानकारी दिइएको थियो । साथै १६ स्थानमा कोल्ड स्टोर निर्माण, खेलमैदान निर्माण तथा नगर बस सञ्चालन गरिएको उल्लेख गरिएको छ । नगरप्रमुख रोजगार कार्यक्रममार्फत एक सय २० जना युवालाई रोजगारी प्रदान गरिएको तथा कम्प्युटर र सीपमूलक तालिम सञ्चालन गरी स्वरोजगारमूलक कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
खुला सडक बहसका क्रममा स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि तथा सेवा प्रवाहसँग सम्बन्धित विषयमा प्रश्न तथा सुझाव राखेका थिए । स्थानीयवासीहरूले विकास निर्माणका काम सकारात्मक रहेको उल्लेख गर्दै दुर्गम बस्तीमा सेवा विस्तार अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् । स्थानीयहरूले युवालाई गाउँमै टिकाउने दीर्घकालीन रोजगार कार्यक्रम आवश्यक रहेको बताएका छन् । विदेश पलायन रोक्न गाउँमै रोजगारी सिर्जना गर्ने थप योजना ल्याउनुपर्ने उनीहरूको सुझाव थियो । कार्यक्रममा नगरप्रमुख भामले चार वर्षको अवधिमा नगरपालिकाले एक हजार पाँच सय ७५ वटा योजना सम्पन्न गरेको जानकारी दिए ।



कार्यविधि संवाददाता । ८ जेष्ठ २०८३, शुक्रबार १४:४६ बजे