डोल्पा । डोल्पा, जाजरकोट र रुकुम पश्चिमलाई जोड्ने १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–पी जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमाथि सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । आयोजनाको विकाससँगै वातावरणीय तथा सामाजिक प्रभावबारे स्थानीयवासी र सरोकारवालाले आफ्ना धारणा राखेका छन् । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा आयोजित सुनुवाइमा आयोजना क्षेत्रका स्थानीय, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।
आयोजना डोल्पाको मुड्केचुला गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका क्षेत्रलाई समेटेर निर्माण गर्न लागिएको हो । आयोजनाअनुसार मुड्केचुला क्षेत्रमा बाँध निर्माण गरिनेछ भने विद्युत्गृह नलगाड नगरपालिका–१३ मा रहनेछ । बाँधदेखि विद्युत्गृहसम्म करिब ७.५ किलोमिटर लामो सुरुङ निर्माण गर्ने योजना रहेको छ ।
सार्वजनिक गरिएको ईआईए प्रतिवेदनमा आयोजनाबाट विद्युत् उत्पादन वृद्धि, रोजगारी सिर्जना, सडक तथा अन्य पूर्वाधार विकास, व्यापार विस्तार र स्थानीय तहको राजस्व वृद्धिजस्ता सकारात्मक पक्ष औँल्याइएको छ । तर आयोजना निर्माणका क्रममा वन क्षेत्र प्रभावित हुने, रूख कटान गर्नुपर्ने, वन्यजन्तुको बासस्थानमा असर पर्ने तथा नदीको बहाव परिवर्तन हुँदा जलचर प्रजातिमा प्रभाव पर्न सक्ने उल्लेख गरिएको छ । स्थानीयवासीले विकास आवश्यक भए पनि वातावरणीय क्षति न्यून गर्न, प्रभावित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने माग राखेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले आयोजनाबाट सिर्जना हुने रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने र जग्गा अधिग्रहण तथा क्षतिपूर्ति कानुनी प्रक्रियाअनुसार प्रदान गरिने बताए । वातावरण विज्ञ मधुकर खड्काले सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव र गुनासाहरू अन्तिम ईआईए प्रतिवेदनमा समावेश गरिने जानकारी दिए । ऊर्जा उत्पादनमार्फत कर्णालीको आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको जगदुल्ला–पी आयोजना विकास र वातावरणीय सन्तुलनबीचको महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ ।



कार्यविधि संवाददाता । ९ असार २०८३, मंगलवार १३:१३ बजे