रोपाईं जात्रालाई कर्णाली प्रदेशका जिल्लाहरूमा चोपाइ भनिन्छ।यहाँको चलन अनुसार चोपाइ एक प्रथा हो ।
चोपाइ प्रथामा रोपाईं जात्रा जस्तै जात्रा गरिन्छ। खास गरेर जुम्ला जिल्लामा रोपाईं जात्रालाई चोपाइ भनिन्छ।
यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ। जसको घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाईंजात्रा गरिन्छ। चोपाइ गराउने व्यक्तीले आफ्नो खेतकाे रोपाईंको दिन गाउँका सबै मान्छेलाई बोलाउनु पर्छ। नेपालको कर्णाली प्रदेश र सुदुर पश्चिममा रोपाईं गर्दा खेतको वीच गरामा पुल्ती राखिन्छ।
पुल्तीलाई कतै कोठा भनिन्छ, कतै भकारी भनिन्छ र कतै पोको भनेको पनि सुनिन्छ। रोपाईं जात्रामा पुल्तीको ठुलो महत्त्व हुन्छ। खास गरेर पुल्ती रोपाईं गर्नेका चेलीहरूले राख्ने प्रचलन छ। जुम्लामा चोपाइ गर्नेको खेतमा पुल्ती राखे पछि नव विवाहीत वर वधु तथा नवजात शिशुलाई पुल्तीको परिक्रमा गराइन्छ। त्यसपछि तिनलाई अक्षेता र दुबो लगाएर बाहिर पठाइन्छ । त्यसपछि पुल्ती राख्ने चेलीले दुबैहातमा बिउ लगेर पुल्ती वरीपरि नगराको तालसँगै नाचेर चोपाइको लागि नव विवाहीत दुलाहाको बुवा अथवा नवजात शिशुको बाबुलाई आमन्त्रण गर्छन।
चोपाइको आमन्त्रण गर्ने बेलामा असारेगित गाउँछन। यसरी चोपाइको आमन्त्रण पाएपछि गाउँका तन्नेरीहरूले दुलहाको बाबु अथवा नवजात शिशुको बाबुलाई हिलोमा डुबाउछन। प्राय रोपाईं जात्रामा रोपाईंको मालिकलाई हिलोमा डुबाउनु पर्छ भन्ने सबै तिर प्रचलन छ। रोपाईंजात्रा नेपालका सबै पश्चिमी जिल्लाहरूमा मनाइन्छ तर मनाउने तरिका फरक फरक पाइएको छ।
के रोपाइँ जात्रा नयाँ जात्रा हो ?
गाईजात्राको भोलिपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकाल बाट चलिआएको हो । उतिखेरको समृद्ध राज्यहरूमा कृषिलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको सुरुवात गरेको मानिन्छ । विशेषतः चैत्य, बहाल र टोलका फलैँचाहरूमा आजका दिन स्थानीयहरू भेला भएर यस जात्रा मनाउने चलन छ ।
रोपाइँ जात्राको पृष्ठभूमि
कृषिप्रधान हाम्रो देशमा हरेक वर्ष मनसुनको व्यापक महत्त्व रहने गर्दछ। कतै पर्याप्त पानी पर्यो र कतै पानी नपरेर रोपाइँका चुनौतीहरू बढे, कतैका किसान दाजुभाइ दिदीबहिनी खुसी भए भने कतैका किसान दाजुभाइ दिदीबहिनीलाई रोपाइँ सोचेजस्तो रूपमा नहुँदा पिर, चिन्ता र मानसिक तनाव बढ्यो। तर, कतै ढिलो कतै चाँडो, कतै सजिलै त कतै थुप्रै कठिनाइहरू सामना गर्दै धान रोपाइँ भइरहेको छ। हाम्रो कृषिप्रधान देशको किसानहरूको सबै भन्दा ठुलो चाड रोपाइँ सकिएको उपलक्ष्यमा आजको दिन खुसीयाली स्वरूप देशका विभिन्न स्थानमा रोपाइँ जात्रा मनाइन्छ।
नेवा: समुदायमा रोपाइँ जात्रा
विशेष गरि नेवा: समुदायले मनाउन सुरु गरेको रोपाइँ जात्रा देशैभर सबैको उत्सव बनेको हो। नेपाल भाषामा रोपाइँ जात्रालाई “सिनाज्या जात्रा” भनिन्छ। देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक फरक ठाउँमा फरक फरक तरिकाले मनाइने पाइएको छ। कर्णाली प्रदेशमा भने यस जात्रालाई “चोपाइ” भनिन्छ। त्यहाँको स्थानीय भाषामा “चोपाइ” भनेको चोप्नु हो। आजको दिन सबै टोलका मानिसहरूले आआफ्नो गाउँ ठाउँमा विभिन्न बाजाहरू बजाउँदै धान रोपे जस्तै गरेर नृत्य गर्ने गरेका छन्। खेतालाहरू जम्मा भएर बाजा बजाएर रोपाइँका गीतहरू गाउँदै नाच्दै धान रोपेको खेतमा पुगेर रमाइलो गर्ने गर्दछन्। आजको दिन धान खेतको असली मालिकलाई खेत भित्र हिलोमा डुबाउनुपर्छ भन्ने मान्यता पनि धेरै ठाउँमा रहेको छ।
कार्यविधी डटकमका लागी शान्ति न्याैपाने
कार्यविधि संवाददाता । २८ श्रावण २०७९, शनिबार ०७:०८ बजे