श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयका किनार सजिसजाउ गरीएकाे छ ।
नेपाकाे विशेष रुपले तराई, मधेसका विभिन्न ठाउँ र काठमाण्डौमा समेत छठ पर्व मनाइँदैछ ।
जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई सजाइएको छ । काठमाण्डौको गुह्येश्वरी, कमलपोखरी लगायतका ठाउँमा पनि नदी तथा पोखरी किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट बनाइएको छ ।
यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।
परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।
यस पर्वमा मुस्लिम समुदायका व्यत्तिले पनि सहभागी हुन्छ र यो पर्व बिधिबत मनाउछ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
कार्यविधि संवाददाता । १२ कार्तिक २०७९, शनिबार ०८:०७ बजे