विश्वकप २०२२ काे क्वाटरफाइनलका दुई खेल आज हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदै छन्  । आज शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसिया आमनेसामने हुदैँ ।

यो खेल नेपाली समयअनुसार आज राति  ८ : ४५  बजे एजुकेसन सिटी मैदानमा सुरु हुनेछ ।

ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ गोलले हराएको थियो । त्यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो । ब्राजिल पाँच पटकको विश्वकप विजेता टोली हो भने क्रोएसिया सन् २०१८ को उपविजेता हो ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स आज राति १२:४५  बजे लुसाइल मैदानमा खेल्दैछन् ।

अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले हराएको थियो । नेदरल्यान्ड्स अमेरिकालाई ३–१ गोलले हराएर क्वाटरफाइनलमा पुगेको हो ।

अर्जेन्टिना सन् १९७८ को फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलो पटक च्याम्पियन बनेको थियो । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् ।

क्वाटरफाइनलमा भोली मोरक्को र पोर्चुगल तथा अन्तिम खेलमा फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ ।

विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जित्दा इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् ।