रुपियाँ होइन, पैसाको सहयोगले विद्यालय चलेको सुन्दा आश्चर्य लाग्न सक्छ। पाँच पैसाको सहयोगबाट चलेको विद्यालयमा अहिले चार जना स्थायी दरबन्दीमा शिक्षक कार्यरत छन्।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्थापना भएको एक विद्यालयका शिक्षकलाई पाँच पैसाको सहयोगबाट तलब दिने गरेको थियो। २०३३ सालमा स्थापित बाल विद्यामन्दिरमा पढाउने तत्कालीन शिक्षकलाई उक्त पैसाको तलब दिन पुग्थ्यो। धनुषा जिल्लामा त्यतिबेला बिक्री भएको पेट्रोलको प्रतिलिटरबाट पाँच पैसा बाल विद्यामन्दिरको नाममा जम्मा गरिन्थ्यो। प्रधानाध्यापक श्याम साहले भन्नुभयो, “यसरी जम्मा भएको पैसाबाट शिक्षकलाई मासिक तलब दिने गरिन्थ्यो।”
त्यसबेला एक/दुई जना शिक्षक हुनुहुन्थ्यो। तीन कट्ठा क्षेत्रफलमा स्थापना गरिएको बाल विद्यामन्दिरमा पठनपाठनका लागि दानवीर दम्पति जनकपुरधाम निवासी महावीर साह र देवकुमारी साहले भवन बनाएको प्रअ साहले जानकारी दिनुभयो।
केही वर्षअघि करिब दुई वर्षसम्म जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउने सेवाग्राहीलाई बाल विद्यामन्दिरलाई सहयोगार्थ पाँच रुपियाँको रसिद काट्नु पर्ने अनिवार्य गरिएको थियो। नागरिकताबाट उठेको रकमबाट पनि विद्यालय सञ्चालन, व्यवस्थापनमा सहयोग पुगेको थियो।
बाल विद्यामन्दिरको नाम परिवर्तन गरेर आधारभूत विद्यालय बाल मन्दिर नामाकरण गरिएको छ। यस विद्यालयको स्थापनाकालदेखि यता धेरै वर्षसम्म शिक्षण सिकाइ राम्रो थियो।
पछिल्ला वर्षहरूमा विद्यालयको शैक्षिक अवस्था खस्किएको भए पनि गत वर्षदेखि सुधार हुँदै गएको छ। विद्यार्थीको सङ्ख्या पनि निकै कम भएको अभिभावक रामभरत साहले बताउनुभयो। उहाँले भन्नुभयो, “पछिल्लो एक वर्ष यता विद्यालयको अवस्था सुध्रिएर गएको छ, अहिले विद्यार्थी पनि नियमित आउन थालेका छन्।”
यस विद्यालयमा निमावि तहका एक जना प्रधानाध्यापक, प्राथमिक तहका तीन जना शिक्षक गरी चार जना स्थायी दरबन्दीमा कार्यरत छन्। बालविकासमा दुई जना शिक्षिका, स्वयंसेवक शिक्षक दुई जना र एक जना परिचर छन्।
प्रधानाध्यपक साहले विद्यालयमा कुल २७५ जना बालबालिका अध्ययनरत रहेको जानकारी दिनुभयो। विद्यालयमा छात्रा १४५ जना र छात्र १३० गरी जम्मा २७५ विद्यार्थीमध्ये दलित छात्रा ६२ र छात्र ५६ गरी ११८ छन्। कुल विद्यार्थीमध्ये कक्षामा दैनिक औसतमा १५०/२०० जना विद्यार्थी उपस्थित हुने गरेको उहाँले बताउनुभयो।
पछिल्लो समय शिक्षण कार्य, कक्षा व्यवस्थापनमा सुधार भएको कारण विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको उहाँले दाबी गर्नुभयो। कक्षा १ देखि ७ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा अहिले विद्यालय व्यवस्थापन समिति गठन भएको छैन।
विद्यालयको स्थापना कालदेखि हालसम्म कार्यालय सहयोगीका रूपमा कार्यरत कृष्णबहादुर लामाले सुरुका केही वर्ष निःशुल्क काम गरेपछि २०४२ सालमा नियुक्ती पाएको बताउनुभयो। सुरुका वर्षमा मासिक पाँच सय रुपियाँ तलब पाउने गरेको उहाँले अहिले मासिक १५ हजार रुपियाँ तलब पाइराख्नुभएको छ।
पेट्रोलबाट आउने गरेको पाँच पैसा आर्थिक सहयोग २०४७ साल यता उक्त सहयोग बन्द भएको अनुमान गरिएको छ। विद्यालयलाई पेट्रोल र नागरिकताबाट भइरहेको आर्थिक आम्दानी बन्द भएको छ। विद्यालय भवन विद्यालय समयभन्दा अगाडि एक क्याम्पसलाई १७ वटा कक्षा कोठा भाडामा दिइएको छ। उक्त भाडाको आम्दानीबाट शिक्षक र अन्य कर्मचारीलाई तलब दिने गरिएको छ।
कार्यविधि संवाददाता । २१ माघ २०७९, शनिबार ०८:०६ बजे