नगरपालिकाका शिक्षा शाखा प्रमुखसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९  बमोजिमको कसुर गरेको देखिएकोले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख (उपसचिव) वासुदेव तिमल्सिनासहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

शाखा प्रमुख (उपसचिव) तिमल्सिना साबिक जिल्ला शिक्षा कार्यालय सर्लाहीको उप जिल्ला शिक्षा अधिकारी रहँदा साबिक डिम जनता उच्च माध्यमिक विद्यालय, सर्लाहीमा उच्च माध्यमिक शिक्षक अनुदान कोटामा नियुक्त नै नभएका पाँचु रायलाई नियुक्ति प्रक्रिया, हाजिरी रेकर्ड लगायतका अभिलेख बेगर नै पदस्थापन गरेको आरोपमा मुद्दा दायर गरिएको प्रेस विज्ञप्ति  मार्फत आयाेगका  प्रवक्ता भोला दाहालले जनाएका छन् ।

प्रेस विज्ञप्तिमा  तत्कालीन उप जिल्ला शिक्षा अधिकारी तिमल्सिनाले पाँचु रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालय सर्लाहीको तत्कालीन उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न साबिक जिल्ला शिक्षा कार्यालय, सर्लाहीको नियुक्ति समर्थन अभिलेख कायम तथा सरुवा पदस्थापन विषयको नक्कली लिखत बनाएकाे  आयाेगले जनाएकाे  छ ।

यस्तै, साबिक डिम जनता उच्च मावि, परवानीपुर, सर्लाहीका तत्कालीन प्राचार्य तथा हाल रामअवतार जनता मावि हरिवनका प्रधानाध्यापक नारायण प्रसाद बरालले शिक्षक पाँचु रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालयको उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न नक्कली लिखत बनाएको ठहर गर्दै आयोगले उनीविरुद्ध पनि आरोपपत्र दायर गरेको छ ।

यसैगरी केश्वर गरिब जनता माध्यमिक विद्यालय, हरिपूर्वाका शिक्षक पाँचु रायले साबिक डिम जनता उच्च मावि सर्लाहीको निर्णयानुसार उच्च माध्यमिक शिक्षकको रुपमा करार नियुक्ति भएको भन्ने व्यहोरा उल्लेख भएको नियुक्तिको नक्कली लिखत तयार गर्न र साबिक जिल्ला शिक्षा कार्यालय सर्लाहीबाट उक्त नियुक्तिको समर्थन÷अभिलेख कायम गरी केश्वर गरिब जनता मावि हरिपूर्वामा सरुवा पदस्थापनको नक्कली लिखत बनाएको भन्दै आयोगले उनीविरुद्ध पनि मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८, दफा २९ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयाेगले जनाएकाे छ   ।