सुर्खेत ,लेकवेसी नगरपालिका /कास
सुर्खेतअन्तर्गत मदन भण्डारी राजमार्गको साढे दुई वर्षमा धुलियाविट-भेडावारी सडक साढे ५ किमी कालाेपत्रे भएको छ ।
झन्डै ३० महिनाकाे समयअवधिमा कालाेपत्रे गर्नुपर्ने ३५ किलाेमिटर सडक खण्डमध्ये साढे पाँच किलाेमिटर सडक कालाेपत्रे भएकाे मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका सूचना अधिकारी इञ्जिनीयर राम सागर हरिजनले बताएका छन् ।
हरिजनले केएस/कालिका र बेदान्सी जेभी धनगढी कैलालीका तीन वटा निर्माण व्यवसायीले आयोजनासँग यहिँ पाैष २७ गते सम्म कार्यसम्पन्न गर्ने गरी ठेक्काको सम्झौता गरी काम गरेकाे बताए।
याे निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ । हालसम्म यस सडककाे भौतिक प्रगति ५५ प्रतिशत मात्र भएको छ ।
सम्झाैता अनुसार कार्य थालनी गरेकाे साढे दुई वर्षमा लगभग अन्तिम चरणमा काम पुग्नु पर्ने हाे तर लक्ष्यभन्दा निकै कम देखिएकाे छ ।
याे सडक खण्ड पूर्वि सुर्खेतकाे वीरेन्द्रनगरमा तीन किमी, लेकवेसीमा २४ किमी र गुर्भाकाेटमा ८ किमी नगरपालिकाका भू–भाग पर्दछन् ।
सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय रूपैयाँ लागत अनुुमान गरिएको थियाे तर ठेक्का सम्झौता भने एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको कार्यालयले जनाएको छ । लागत अनुुमानभन्दा ४१ प्रतिशत विलाेमा निर्माण कम्पनीसँग सम्झौता भएको हो ।
सो सडक खण्डमा पर्ने पुल र सडकको निर्माणमा हालसम्म ४७ करोड १६ लाख खर्च भइसकेको कार्यालयले जनाएकाे छ ।
‘ कालाेपत्रे हुन बाँकी सडकककाे चौडाइ ११ मिटर हुनेगरी कटिङ भइरहेकाे छ,’ अधिकारी हरिजनले भने,‘अहिले भित्ताको माटो काट्ने, साइडलेन, पक्की नाला निर्माण, ग्राबेल, वाल र पुलकाे काम निरन्तर हुँदैछन् ।’
रूख कटानबारे मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने हुँदा काममा केही ढिलाइ भएको कार्यालयले जनाएको छ । त्यस्तै, विद्युतका पोल हटाउने प्रक्रियामा पनि धेरै समय अल्झिनु परेकाले सडकको काममा बाधा पुुगेको सूचना अधिकारीले बताए ।
कार्यविधि संवाददाता । २ पुष २०८०, सोमबार २१:०७ बजे