दुई महिनापछि प्रजिअ

डोटी : डोटी जिल्लामा दुई महिनापछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी आउने भएका छन् ।

हिजो (शनिबार) गृह मन्त्रालयले शंकरबहादुर विष्टलाई डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्  ।राजपत्राङ्कित द्वितीय श्रेणीका विष्ट हाल बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत छन् ।

दार्चुला र अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका विष्ट यसअघि डोटीमा सहायक प्रमुख जिल्ला अधिकारी पनि थिए । साविकको सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा विष्टले  निमित्त प्रशासकको जिम्मेवारी पनि सम्हालेका थिए ।तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनिल खनाल साउन १० गते सरुवा भएर गृह मन्त्रालय गएपछि डोटी प्रमुख जिल्ला अधिकारीविहीन भएको थियो ।

राजपत्राङ्कित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको दरबन्दी रहेको डोटीमा खनालको सरुवा भएपछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले निमित्त भएर काम गर्दै आइरहेकी थिइन् ।