काठमाडौँ । यस हप्ताको सेयर कारोबार साताको सुरुदेखि नै उकालो लागेको छ । साताको पहिलो कारोबारबाट नै हरियाली छाएको कारोबार साताको अन्तिम दिन पनि दोहोरो अङ्कले वृद्धि भएर बन्द भएको छ । आज सेयर बजार परिसूचक नेप्से १३.०४ अङ्कले वृद्धि हुँदा २७८२.१६ अङ्कमा बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार २५५७.०१ अङ्कमा बन्द भएको नेप्से यो साताको पाँच कारोबार दिनमा पाँच दिन नै वृद्धि हुँदा २२५.१५ अङ्कले बढेको छ ।
तर बुधवारको तुलनामा भने कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ३९ करोड ५२ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ । बजार परिसूचक बढे पनि बजारलाई लिड गर्ने बैङ्किङसहित व्यापार, होटेल तथा पर्यटन, उत्पादनमूलक, जीवन बिमा र म्युचुअल फन्ड उपसूचक भने घटेको छ ।
अन्य उपसूचकमा सर्वाधिक २.५३ प्रतिशत, लघुवित्त उपसूचकमा २.४३ प्रतिशत, हाइड्रोपावर उपसूचकमा २.२१ प्रतिशतको वृद्धि हुँदा त्यसले नेप्सेलाई पनि उचालेको छ । यस्तै, विकास बैङ्क उपसूचक पनि ०.९९ प्रतिशत र वित्त कम्पनी उपसूचक ०.५२ प्रतिशतले बढेको छ । होटेल तथा पर्यटन उपसूचकमा भने १.१५ प्रतिशतको गिरावट हुँदा बैङ्किङ उपसूचक ०.४२ प्रतिशत र उत्पादनमूलक उपसूचकमा ०.८ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा आज १८७ कम्पनीको सेयर कारोबारमा आउँदा ११३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ७१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा तीन कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज कारोबारमा आएका मध्ये रिडी हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ९.३९ प्रतिशत, हिमालयन पावर पार्टनरको ९.२४ प्रतिशत, जीवन विकास लघुवित्तको ५.५७ प्रतिशत र ग्रामीण विकास लघुवित्तको ८.२५ प्रतिशतले बढेको छ ।
यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य २.६९ प्रतिशत, अजोड इन्स्योरेन्सको २.४४ प्रतिशत र कृषि विकास बैङ्कको सेयर मूल्य २.३६ प्रतिशतले बढेको छ । आज बजारमा कारोबार रकममा नेसनल हाइड्रोपावरले लिड गरेको छ । कम्पनीको २९ करोडको कारोबार हुँदा नबिल बैङ्कको २२ करोड ७५ लाख र जीवन विकास लघुवित्तको १८ करोड ४४ लाखको कारोबार भएको छ ।
कार्यविधि संवाददाता । ११ कार्तिक २०७८, बिहीबार १६:४४ बजे