सुर्खेत । लामो समयदेखि रोकिएको सूर्यतारा सिमेन्ट उद्योगको निर्माण कार्य पुनः अघि बढ्ने भएको छ । यसअघि सरकारबाट आवश्यक सहयोग नपाएको भन्दै रोकिएको आयोजना अहिले भने नयाँ सरकारप्रति आशा राख्दै पुनः सक्रिय बनाइएको हो । सूर्यतारा इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाका अनुसार प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण नगर्दा आयोजनाले विभिन्न चुनौती सामना गर्नुपरेको थियो । यद्यपि, हालको सरकारसँग सहकार्यको अपेक्षा राख्दै निर्माण कार्य अघि बढाइएको उनले जानकारी दिए ।
उद्योगका लागि आवश्यक विद्युत, खानेपानी र पहुँच मार्गजस्ता आधारभूत पूर्वाधार अभावकै कारण काम रोकिएको थियो । अब प्रदेश सरकारले यस्ता पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा ठूला उद्योग सञ्चालनका लागि पूर्वाधार विकासमा सहयोग गर्ने उल्लेख गरेको छ । सोहीअनुसार बजेट विनियोजन गरी उद्योग निर्माणलाई गति दिने योजना रहेको छ ।
यसैबीच, खानीजन्य पदार्थ ढुवानीका लागि १० किलोमिटर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बराहताल गाउँपालिका–७ को लखरपाटादेखि मदन भण्डारी राजमार्गको खम्बागाडेसम्म सडक निर्माण भइरहेको छ, जसका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ। विस्तृत परियोजना प्रतिवेदन (DPR) अनुसार उक्त सडक निर्माणको अनुमानित लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ । ट्र्याक खोल्ने, नाला, पर्खाल, कल्भर्ट र ग्राभेलसम्मका काम भइरहेको जनाइएको छ ।
उद्योग सञ्चालनका लागि करिब १५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने बताइएको छ, जसमा लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ स्वीकृत गरिसकेको छ । उद्योगले बराहताल–७ को लखरपाटामा ९५ हजार हेक्टर क्षेत्रबाट चुनढुंगा उत्खनन गर्ने र चौकुने गाउँपालिकामा ४२ बिघा जमिनमा उद्योग स्थापना गर्ने योजना बनाएको छ । अब निर्माण कार्य अघि बढेसँगै थप लगानी जुटाउने प्रक्रिया पनि सुरु गरिने कम्पनीले जनाएको छ। ठूलो परियोजना भएकाले बाह्य लगानीसमेत आकर्षित गर्ने योजना रहेको छ ।



कार्यविधि संवाददाता । २३ चैत्र २०८२, सोमबार १५:५६ बजे