हिल्सा नाकामा सशस्त्र प्रहरीको जनशक्ति वृद्धि

हुम्ला ।  नेपाल–चीन सीमास्थित हिल्सा नाकामा सुरक्षा व्यवस्था मजबुत बनाउन सशस्त्र प्रहरी बलको जनशक्ति थप गरिएको छ । सरकारको निर्देशन अनुसार सीमा क्षेत्रमा सुरक्षा प्रभावकारी बनाउन हुम्लाबाट अतिरिक्त सुरक्षाकर्मी खटाइएको हो । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटले जिल्लामा उपलब्ध जनशक्तिबाट नौ जना सुरक्षाकर्मी हिल्सातर्फ पठाएको जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक शङ्करसिंह ऐरका अनुसार उक्त टोलीलाई बुधबार बिहान गाडीमार्फत नारा लेकसम्म पठाइएको थियो ।

त्यहाँबाट सडकमा हिउँ जमेकाले बाँकी यात्रा पैदलै तय गरी हिल्सा पुग्ने व्यवस्था मिलाइएको छ । यसअघि हिल्सा स्थित सीमा सुरक्षा चौकी (बिओपी) मा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २६ जना जनशक्ति कार्यरत थिए । नयाँ टोली थपिएपछि अब त्यहाँ कुल ३५ जना सुरक्षाकर्मी परिचालन हुने भएका छन् । अधिकृत ऐरले थपिएको जनशक्तिले सीमा सुरक्षासँगै अवाञ्छित गतिविधि नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार बिओपी हिल्साले दैनिक रूपमा सीमास्तम्भहरूको अनुगमन गर्दै सीमा क्षेत्रमा निगरानी गर्दै आएको छ । अब जनशक्ति बढेपछि सीमास्तम्भ अनुगमनका लागि एउटाको सट्टा दुई टोली परिचालन गरिनेछ । यसले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने र सम्भावित जोखिमहरूलाई समयमै नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।