हुम्ला । सम्झौता भएको चार वर्षपछि कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ स्थित दोजाममा कर्णाली नदीमाथि निर्माण भइरहेको स्टिल ट्रस्ट मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ । हिल्सा–सिमकोट सडक योजनाको निरन्तर दबाबपछि आगामी जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राख्दै कामलाई तीव्र बनाइएको छ । हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार २०७८ साल असोज १४ गते नुवाकोटको स्वच्छन्द माउण्ट पुमरी जेभीसँग सम्झौता भए पनि विभिन्न कारणले काममा ढिलाइ भएको थियो। विशेषगरी पूर्वतर्फ तातोपानी निस्किएपछि करिब एक वर्षसम्म निर्माण कार्य अवरुद्ध भएको थियो ।
यस वर्षदेखि भने निर्माणले गति लिएको छ। पुलका दुवै छेउका संरचना तयार भइसकेका छन् भने आवश्यक स्टिल सामग्री स्थलमा पुर्याएर जडान कार्य धमाधम भइरहेको छ। नदी कटानबाट पुल जोगाउन दुवैतर्फ ग्याविन समेत राखिएको छ । निर्माण कम्पनीले बिहानदेखि बेलुकासम्म निरन्तर काम गरिरहेको जनाएको छ। ५५ मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको यस पुलका लागि २०८० साल असोज ६ गते म्याद थप गरिएको थियो ।
कुल ११ करोड ८३ लाख ९४ हजार ५०८ रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा हालसम्म २० प्रतिशत वित्तीय र ५० प्रतिशत भौतिक प्रगति हासिल भएको छ । बाँकी स्टिल जडान कार्य आगामी दुई महिनाभित्र सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । यसअघि निर्माण ढिलाइ हुँदा स्थानीयले वैकल्पिक रूपमा बेलिब्रिजको माग गरेका थिए। सोही अनुसार हाल निर्माणाधीन पुलभन्दा केही माथि अस्थायी बेलिब्रिज समेत निर्माण गरिएको छ ।



कार्यविधि संवाददाता । २४ चैत्र २०८२, मंगलवार ११:०७ बजे