जुम्ला । नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले घरदैलोमै राहदानी वितरण कार्य सुरु गरिएको छ । सरकारको शासकीय सुधारअन्तर्गतको सय कार्यसूचीअनुसार सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने अभियानमा यो पहल गरिएको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला हुलाक कार्यालयबीच बुधबार समझदारी भएको छ । समझदारीअनुसार हुलाक कार्यालयका एक कर्मचारी जिल्ला प्रशासनमै बसेर समन्वय गर्नेछन् ।
प्रशासनले तयार भएका राहदानी हुलाक कार्यालयलाई हस्तान्तरण गर्ने र हुलाक कर्मचारीले ती राहदानी सम्बन्धित नागरिकको घरमै पुगेर वितरण गर्ने व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार अब जिल्लाका आठै स्थानीय तहका नागरिकले घरमै राहदानी पाउनेछन् । राहदानी बुझ्दा सेवाग्राहीले ५५ रुपैयाँ शुल्क तिर्नुपर्नेछ र वितरणअघि सम्बन्धित व्यक्तिको तीन पुस्ते विवरणसमेत प्रमाणीकरण गरिनेछ ।
यसअघि राहदानी लिन सदरमुकामसम्म आउनुपर्ने, यातायात र बसाइ खर्च व्यहोर्नुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थासँगै नागरिकले समय र खर्च दुवै बचत गर्ने अपेक्षा गरिएको छ । जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख गणेशदत्त रावलले प्रशासनबाट प्राप्त राहदानीहरू तीन दिनभित्र हल्कारा मार्फत सम्बन्धित सेवाग्राहीको घरमै पुर्याइने जानकारी दिएका छन् ।



कार्यविधि संवाददाता । २३ बैशाख २०८३, बुधबार १२:५५ बजे