बिमा सचेतना अभिवृद्धि गर्न अभिमुखिकरण 

सुर्खेत ।  चौकुने गाउँपालिकामा नागरिकको आर्थिक सुरक्षा र स्वास्थ्य उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँ कार्यपालिकाको कार्यालय गुटुमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, बिमा अभिकर्ता तथा विभिन्न कार्यालयका प्रमुखहरूको उल्लेख्य सहभागिता रहेको थियो । गाउँपालिकाको आयोजना तथा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय र स्वास्थ्य बिमा बोर्ड सुर्खेतको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विकको अध्यक्षता रहेको थियो । कार्यक्रममार्फत बिमालाई विलासिताभन्दा आवश्यक सेवाका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको थियो ।

अभिमुखिकरणका क्रममा जीवन, निर्जीवन तथा स्वास्थ्य बिमाका विविध पक्षमा विस्तृत छलफल गरिएको थियो । सहजकर्ता नीलप्रसाद लामिछानेले बिमाको आवश्यकता, यसको महत्त्व तथा जोखिम व्यवस्थापनका प्राविधिक पक्षबारे जानकारी गराउँदै लगानी प्रतिफल, प्रक्रिया र अपनाउनुपर्ने सावधानीबारे स्पष्ट पारे ।  त्यस्तै, स्वास्थ्य बिमा बोर्डका प्रतिनिधिले स्वास्थ्य बिमाको कानुनी व्यवस्था, सेवा उपयोग प्रक्रिया तथा चौकुने क्षेत्रमा यसको अवस्था अझै सन्तोषजनक नभएको तथ्य प्रस्तुत गरे । कार्यक्रममा समुदायस्तरमा स्वास्थ्य बिमाको विस्तार कमजोर रहेको निष्कर्ष निकाल्दै यसलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइयो ।

कार्यक्रममा बिमा सेवाको प्रभावकारिता बढाउन केही महत्वपूर्ण निर्णयहरू पनि गरिएको छ । बिमा सहजकर्तालाई परिचयपत्र तथा आवश्यक सामग्री उपलब्ध गराउने, कार्यसम्पादनको त्रैमासिक समीक्षा गर्ने र सक्रियता बढाउन यातायात तथा खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरिएको छ । यस कार्यक्रमले चौकुने गाउँपालिकाका नागरिकलाई आर्थिक जोखिमबाट जोगाउन र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।