सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम शीघ्र सम्पन्न गरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले रङ्गशाला निर्माणका लागि बजेट विनियोजन भइसकेको उल्लेख गर्दै अब कुनै ढिलाइ स्वीकार्य नहुने बताए । मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायी तथा सम्बन्धित निकायलाई समन्वय गरेर बाँकी काम छिटो टुंग्याई रङ्गशाला हस्तान्तरण गर्ने वातावरण बनाउन आग्रह गरे ।
अब बहानाबाजी गर्ने समय छैन, निर्धारित कार्यतालिका अनुसार काम सम्पन्न हुनुपर्छ, उनले जोड दिए । निर्माण कार्यलाई प्रभावकारी बनाउन नियमित अनुगमन र समन्वय आवश्यक रहेको बताउँदै उनले जिम्मेवार निकायलाई आफ्नो भूमिकाप्रति गम्भीर हुन निर्देशन दिए । रङ्गशाला सम्पन्न भएपछि कर्णालीमा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसर सिर्जना हुने विश्वास उनले व्यक्त गरे । मुख्यमन्त्री कँडेलले खेलकुद क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको औंल्याए ।
खेलाडीहरूको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षण, पूर्वाधार विकास तथा प्रतियोगिताको निरन्तर आयोजनामा ध्यान दिनुपर्नेमा उनले जोड दिए । कर्णालीमा खेलकुद क्षेत्रको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै उनले आवश्यक पूर्वाधार, खेलमैदान, आवास र व्यवस्थापनका काम समयमै पूरा गर्न निर्देशन दिए । साथै, विभिन्न जिल्लामा खेल पूर्वाधार निर्माणका लागि स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेश गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।
मुख्यमन्त्रीले चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न र उपलब्ध स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । उनले परिषद् बैठकबाट अनुमोदन भएका कार्यक्रम मात्र कार्यान्वयनमा लैजानुपर्ने स्पष्ट पार्दै कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय स्पष्ट रूपमा निर्धारण गर्न निर्देशन दिए । बैठकमा परिषद्का पदाधिकारीहरूले रङ्गशाला निर्माणको प्रगति, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । सहभागीहरूले प्रभावकारी समन्वय र स्रोत व्यवस्थापनमार्फत निर्माण कार्यलाई गति दिन सकिने धारणा व्यक्त गरेका थिए ।



कार्यविधि संवाददाता । २९ चैत्र २०८२, आईतवार १४:०३ बजे