वीरेन्द्रनगर । सुर्खेतमा लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय पत्रकार बुद्धिसिंह ठकुरीको असामयिक निधन भएको छ । उनको निधनप्रति नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले गहिरो दुःख व्यक्त गरेको छ । महासंघका अध्यक्ष सुशीलराज शर्माद्वारा जारी शोक वक्तव्यमा ठकुरीको निधनले समग्र पत्रकारिता क्षेत्र स्तब्ध बनेको उल्लेख गरिएको छ । स्वर्गीय ठकुरी सुर्खेत र काठमाडौँमा रहेर टेलिभिजन पत्रकारितामा सक्रिय थिए । उनले विभिन्न सञ्चारमाध्यममार्फत पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याएका थिए। उनको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको महासंघले जनाएको छ ।
महासंघले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, ठकुरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदान सधैं स्मरणीय रहने उल्लेख गरिएको छ । ४१ वर्षीय ठकुरीको बिहीबार घरमै हृदयघातका कारण निधन भएको हो । परिवार स्रोतका अनुसार उनको आज बिहान ११ बजे सुर्खेतस्थित भेरीघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ ।



कार्यविधि संवाददाता । २६ चैत्र २०८२, बिहीबार ०८:४४ बजे