शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फूलवारी विद्या मन्दिरले जिल्लामा सर्वोत्कृष्ट (सतप्रतिशत) नतिजा हाँसिल गरेको छ । यस विद्यालयवाट एसईईमा सहभागी ४७ जना परिक्षार्थी मध्ये सतप्रतिशत विद्यार्थी उर्तीण भएका हुन् । जसमध्ये १४ जनाले ‘ए’ प्लस, २१ जनाले ‘ए’ ११ जनाले ‘बी’ प्लस र १ जनाले ‘बी’ जिपिए प्राप्त गर्दै शतप्रतिशत विद्यार्थी उर्तीण भएका छन् ।
विद्यालयको सफलता कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव नभएको विद्यालयका प्रिन्सिपल सुवास थापाले बताए । उनले विद्यार्थीको मेहनत, शिक्षकको समर्पण, अभिभावकको विश्वास र विद्यालय व्यवस्थापनको योजनाबद्ध कार्यशैलीका कारण यस्तो उपलब्धि हासिल गर्न सफल भएको उल्लेख गरे ।
विद्यालयमा सुरुदेखि नै गुणस्तरीय शिक्षामा विशेष जोड दिएको उनले बताए । नियमित अतिरिक्त कक्षा सञ्चालन, विद्यार्थीको सिकाइ उपलब्धिको निरन्तर मूल्यांकन तथा सुधारात्मक कार्यक्रम प्रभावकारी रूपमा लागू गरिएकाले उत्कृष्ट नतिजा आएको उनको भनाइ छ ।
विद्यालयले नियमित पठनपाठनसँगै अतिरिक्त कोचिङ कक्षा, साप्ताहिक परीक्षा, समूहगत अध्ययन तथा शिक्षक–विद्यार्थी अन्तरक्रियालाई प्रभावकारी बनाएको उनले बताए । कमजोर विद्यार्थीलाई विशेष सहयोग र सबै विद्यार्थीलाई प्रोत्साहन गर्ने नीति अपनाएकाले विद्यालयले जिल्लामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको प्रिन्सिपल थापाले बताए ।
स्थानीय शिक्षा प्रेमी, अभिभावक तथा सरोकारवालाहरूले विद्यालयको उपलब्धिलाई दैलेखको शैक्षिक क्षेत्रका लागि प्रेरणादायी भएको बताएका छन् । ग्रामीण जिल्लाका विद्यालयले पनि उचित योजना, मेहनत र समर्पणका साथ उत्कृष्ट नतिजा हासिल गर्न सक्छन् भन्ने उदाहरण फूलवारी विद्या मन्दिरले प्रस्तुत गरेको स्थानीयवासीको भनाइ छ ।
जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएपछि विद्यालयलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना दिने क्रम जारी रहेको छ ।


कार्यविधि संवाददाता । २९ बैशाख २०८३, मंगलवार १६:१७ बजे