हुम्ला । चालु आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा हुम्लामा वार्षिक रूपमा आउने औषधी ढिलो गरी आइपुगेको छ । प्रदेश आपूर्ति निर्देशनालय, सुर्खेतले खरिद गरेको उक्त औषधी चैत अन्तिम साता पैदल मार्गमार्फत जिल्लामा ढुवानी गरिएको हो । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीका अनुसार आइपुगेको औषधी प्रयोगका लागि केवल चारदेखि पाँच महिनाको अवधि मात्र बाँकी छ । आर्थिक वर्ष सकिनु अघि नै प्रयोग गरिनुपर्ने औषधी ढिलो आइपुग्दा प्रभावकारी उपयोगमा चुनौती देखिएको छ ।
सरकारले निःशुल्क वितरण गर्ने यी औषधी एक सयभन्दा बढी कार्टुनमा रहेका छन् । हुम्लाजस्तो दुर्गम जिल्लामा यति छोटो म्याद बाँकी रहेको औषधी पठाइनु उपयुक्त नभएको स्वास्थ्य कार्यालयको भनाइ छ । समयमै औषधी उपलब्ध गराउन प्रदेश आपूर्ति निर्देशनालयलाई पटक–पटक पत्राचार गरिए पनि “खरिद नभएको” जवाफ आउने गरेको र त्यसकै कारण ढिलाइ भएको बताइएको छ । अब भने छोटो म्यादका कारण धेरै औषधी प्रयोग हुन नपाई नष्ट हुने जोखिम बढेको छ ।
करिब एक लाख रुपैयाँ बराबरका २५ प्रकारका औषधी अब स्वास्थ्य सेवा कार्यालयले गाउँपालिकाहरूमा समेत वितरण गर्नुपर्नेछ । तर सीमित समयका कारण सबै औषधी प्रभावकारी रूपमा प्रयोग गर्न कठिन हुने देखिन्छ । गत साउनदेखि नै औषधी अभाव झेल्दै आएको स्वास्थ्य संस्थाले प्रदेशबाट माग गरेर तथा स्थानीय तहबाट सापटी लिएर सेवा सञ्चालन गर्दै आएको जनाएको छ । स्वास्थ्य सेवा कार्यालयले भविष्यमा यस्ता समस्या नआउने गरी समयमै औषधी खरिद र ढुवानीको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।



कार्यविधि संवाददाता । २ बैशाख २०८३, बुधबार १०:५५ बजे