पाँच वटा कक्षा एउटा शिक्षकको भरमा

हुम्ला ।  सिमकोट गाउँपालिका–६ मा रहेको मानसरोवर माध्यमिक विद्यालयमा प्राथमिक तह (कक्षा १–५) को पढाइ हाल एक जना शिक्षककै जिम्मामा सञ्चालन भइरहेको छ । चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ सम्म सञ्चालनको अनुमति पाएको विद्यालयमा आवश्यक शिक्षक व्यवस्था नगर्दा पठनपाठनमा समस्या देखिएको हो । विद्यालयका शिक्षक शक्तिसिंह रावतका अनुसार आधारभूत तहका सबै कक्षाको पढाइ उनले एक्लैले सम्हालिरहेका छन् । विद्यालयमा अर्का एक अस्थायी शिक्षक भए पनि उनी सुत्केरी बिदामा रहेकाले सम्पूर्ण जिम्मेवारी एकै जनामा परेको हो । यसअघि उक्त विद्यालयमा कक्षा ५ देखि १२ सम्म मात्र पढाइ हुँदै आएको थियो ।

प्राथमिक तह थप गर्ने निर्णयअघि आवश्यक पूर्वाधार र जनशक्तिको उचित मूल्याङ्कन नगर्दा यस्तो अवस्था आएको देखिन्छ । गत फागुनदेखि सुरु गरिएको प्राथमिक तहमा हाल ३३ विद्यार्थी अध्ययनरत छन् । कक्षा १ मा १३, कक्षा २ मा पाँच, कक्षा ३ मा एक, कक्षा ४ मा सात र कक्षा ५ मा सात विद्यार्थी रहेका छन् । बालविकास कक्षा भने अझै सञ्चालनमा आएको छैन । विद्यालयले कक्षा ६ मा भर्ना हुने विद्यार्थीको शैक्षिक स्तर कमजोर देखिएपछि आफ्नै आधार तयार गर्न प्राथमिक तह सञ्चालनको माग गरेको थियो ।

यस विषयमा सिमकोट गाउँपालिकाको शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले कक्षा सञ्चालनको अनुमति पाएपछि व्यवस्थापनको जिम्मेवारी विद्यालयकै भएको बताए । उनले विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक व्यवस्थापन गर्न गाउँपालिका सकारात्मक रहेको पनि उल्लेख गरे । विगत चार वर्षदेखि शिक्षक दरबन्दी मिलान प्रभावकारी रूपमा हुन नसक्दा कतै शिक्षक बढी र कतै अभाव हुने समस्या देखिँदै आएको छ । गाउँपालिकाले अब यस समस्याको समाधानका लागि दरबन्दी मिलान प्रक्रिया छिट्टै अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।