दैलेख । गुराँस गाउँपालिकाका महिलाहरूले महिलामैत्री योजना तर्जुमा तथा बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । पालिकामा ५२ प्रतिशतभन्दा बढी महिला जनसंख्या भए पनि सोही अनुपातमा बजेट तथा नीति–कार्यक्रम निर्माण नभएको उनीहरूको गुनासो छ । गुराँस गाउँपालिकामा आयोजित ‘सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।
वडा नं. तिन मा सम्पन्न कार्यक्रममा स्थानीय कुशुम शाहीले पालिकाले हालसम्म प्रस्तुत गरेको बजेटमा लैङ्गिक उत्तरदायित्व कमजोर रहेको बताए । उनका अनुसार बजेट महिलामैत्री नहुँदा अपेक्षित परिवर्तन महसुस हुन सकेको छैन । उनले विकासलाई केवल भौतिक पूर्वाधारसँग मात्र जोडिएको भन्दै सामाजिक विकासका कार्यक्रमहरू ओझेलमा परेको बताए । सोही वडाकी गौरी वलीले पनि महिलासम्बन्धी विषयहरू प्राथमिकतामा नपर्दा विकास प्रक्रियामा महिलाको भूमिका कमजोर भएको टिप्पणी गरे ।
त्यसैगरी मीना रावलले महिलाको क्षमता अभिवृद्धि, रोजगारी सिर्जना र आयआर्जन बढाउने खालका कार्यक्रम बजेटमा समेटिनुपर्नेमा जोड दिए । सहभागीहरूले खानेपानीको अभाव, कृषि प्राविधिक ज्ञानको कमी, स्वास्थ्य सेवामा जनशक्ति अभाव, महँगो भाडामा बिरामीलाई सुर्खेत लैजानुपर्ने बाध्यता, सीपमूलक कार्यक्रमको कमी तथा अनुदानमा पहुँच नपुगेको जस्ता समस्या पनि उठाएका थिए । वडा नं. तिन कार्यालयले लैङ्गिकमैत्री बजेट निर्माणका लागि छलफल सुरु गरिएको जनाएको छ ।
वडाध्यक्ष काँशीराम शर्माका अनुसार आगामी वर्ष समुदायको हितलाई केन्द्रमा राखेर योजना, कार्यक्रम र बजेट निर्माण गरिनेछ । साथै वडाले हाल पनि सीपमूलक तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशमा १२.५ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा रहेको छ भने ६.२ प्रतिशत परिवारमा घर र जग्गा दुवै महिलाको नाममा रहेको तथ्याङ्क छ ।



कार्यविधि संवाददाता । २३ बैशाख २०८३, बुधबार १४:४० बजे