कालीकोट । स्वास्थ्य सेवा कार्यालय कालीकोट ले प्रशासनिक कामलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन डिजिटल ई–हाजिरी प्रणाली लागू गरेको छ। कार्यालय तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूको नियमित उपस्थिति र समयपालनालाई प्रभावकारी बनाउन यो प्रणाली सञ्चालनमा ल्याइएको हो । सरकारी कार्यालयहरूमा कर्मचारीको उपस्थिति र समयपालनाबारे बारम्बार प्रश्न उठिरहेका बेला कालीकोट स्वास्थ्य कार्यालयले सुरु गरेको डिजिटल प्रणालीलाई सकारात्मक पहलका रूपमा हेरिएको छ ।
अब कर्मचारीहरूको कार्यालयमा प्रवेश र बाहिरिने समय सफ्टवेयरमार्फत प्रत्यक्ष रेकर्ड तथा निगरानी गरिनेछ । नयाँ प्रणाली लागू भएपछि परम्परागत कागजी हाजिरीमा देखिने त्रुटि, अनुपस्थित भएर पनि हाजिरी गर्ने प्रवृत्ति तथा ढिलो उपस्थित हुने जस्ता समस्यामा कमी आउने अपेक्षा गरिएको छ । विशेषगरी स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको समयमै उपस्थितिले सेवा प्रवाहमा सुधार आउने विश्वास गरिएको छ ।
कार्यालय प्रमुख डा. रत्नवीर सुनार का अनुसार प्रविधिको प्रयोगले कर्मचारीमा अनुशासन कायम गर्न र कार्यसम्पादन मूल्याङ्कन गर्न सहज हुने छ । उनले सरकारको डिजिटल प्रशासन अभियानअन्तर्गत यो प्रणाली लागू गरिएको जानकारी दिए उनका अनुसार ई–हाजिरी प्रणालीले दुर्गम जिल्लाका नागरिकले पाउने स्वास्थ्य सेवामा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछ । साथै अस्पतालको सेवा प्रवाह थप जिम्मेवार, पारदर्शी र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।



कार्यविधि संवाददाता । २९ बैशाख २०८३, मंगलवार १६:१८ बजे