विद्युत् टावर पुनर्निर्माण, मैनाै दिन लाग्ने

सुर्खेत ।  तीन महिना अघि मात्रै सञ्चालनमा आएको कोहलपुर–सुर्खेत–दैलेख  १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत हावाहुरीले क्षतिग्रस्त बनाएका दुई वटा विद्युत् टावर पुनर्निर्माण कार्य सुरु गरिएको छ । बुधबारदेखि बाँकेको चिसापानी क्षेत्रस्थित क्षतिग्रस्त टावर हटाएर नयाँ संरचना निर्माणको काम थालिएको आयोजनाले जनाएको छ । गत शनिबार आएको शक्तिशाली हावाहुरीले चिसापानी नजिक रहेको कृष्ण सामुदायिक वनभित्रका ४४ र ४५ नम्बरका दुई वटा टावर पूर्ण रूपमा ढालेको थियो ।

आयोजनाका सूचना अधिकारी इन्जिनियर रितेश जयसवालका अनुसार क्षतिग्रस्त पोल हटाएर नयाँ जग निर्माणको काम सुरु भइसकेको छ । आयोजनाले प्रसारण लाइन विस्तारका क्रममा दायाँबायाँ १८ मिटर क्षेत्र सफा गरिएको भए पनि हावाहुरीका कारण २२ मिटर टाढा रहेको करिब ३८ मिटर अग्लो र तीन मिटर मोटाइको रुख लाइनमाथि ढल्दा टावरमा ठूलो क्षति पुगेको जनाएको छ । टावर भन्दा अग्ला रुख ढल्दा संरचना भाँच्चिएको इन्जिनियर जयसवालले बताए ।

आयोजनासँग आवश्यक पोल मौज्दातमै रहेकाले प्राविधिक टोली र पूर्वनिर्माण कम्पनीको सहकार्यमा पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ । दुई वटा टावर ढलेपछि सुर्खेततर्फ आपूर्ति हुने १३२ केभी विद्युत् प्रसारण सेवा अवरुद्ध भएको छ । आयोजनाका अनुसार पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न गर्न कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ । यद्यपि निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ ।