डोल्पा । जिल्लाकाे मुड्केचुला गाउँपालिकामा पूर्ण सरसफाइ तथा सुरक्षित सरसफाइ कार्ययोजना निर्माणसम्बन्धी समीक्षा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त, सुरक्षित र स्वस्थ स्थानीय तहका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सबैका लागि दिगो खानेपानी तथा सरसफाइ कार्यक्रम सहयोग इकाई, वीरेन्द्रनगर सुर्खेतको सहजीकरण तथा मुड्केचुला गाउँपालिका वास (WASH) युनिटको आयोजनामा गाउँपालिकाको सभाहलमा गोष्ठी सञ्चालन गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, वडा अध्यक्ष, विभिन्न शाखाका प्रमुख तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्ण सरसफाइ तथा सुरक्षित सरसफाइ कार्ययोजना निर्माणसँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो । वास युनिटका शाखा प्रमुख शुकबिर रोकाय, स्वास्थ्य शाखा प्रमुख शम्भु मोरिक यादव र प्रशासन शाखाका दुर्गाप्रसाद रिजालले सहजीकरण गर्दै सरसफाइ व्यवस्थापनका विविध पक्षबारे जानकारी गराएका थिए ।
प्रशिक्षणका क्रममा मानव मलमूत्रजन्य फोहोरको सुरक्षित व्यवस्थापन, स्वच्छ खानेपानीको प्रयोग, वातावरण संरक्षण, स्वस्थ जीवनशैली र गुणस्तरीय सरसफाइ अभ्यासका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । साथै, खुला दिसामुक्त अवस्थाबाट पूर्ण सरसफाइतर्फ उन्मुख हुन आवश्यक रणनीति, महिनावारी स्वच्छता व्यवस्थापन, शौचालयको उचित प्रयोग तथा फोहोर व्यवस्थापनका उपायबारे सहभागीहरूबीच अन्तरक्रिया गरिएको थियो ।
वास युनिटका शाखा प्रमुख रोकायका अनुसार सरसफाइ केवल व्यक्तिगत स्वास्थ्यसँग मात्र नभई वातावरण संरक्षण र दिगो विकाससँग समेत प्रत्यक्ष रूपमा जोडिएको विषय हो । त्यसैले स्थानीय तहको नीति, योजना र कार्यक्रममार्फत सुरक्षित सरसफाइका अभ्यासलाई संस्थागत गर्न आवश्यक रहेको उनले बताए । कार्यक्रममा सहभागीहरूले गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त र सुरक्षित वातावरण भएको स्थानीय तहका रूपमा विकास गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए । गोष्ठीले आगामी दिनमा कार्ययोजना निर्माण तथा कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउन महत्वपूर्ण आधार तयार गरेको विश्वास व्यक्त गरिएको छ ।



कार्यविधि संवाददाता । ११ असार २०८३, बिहीबार ११:४४ बजे