समानताका लागि सरोकारवालाको १० बुँदे प्रतिबद्धता

सुर्खेत । गौरव महिना (प्राइड मन्थ) समापन, उत्कृष्ट उद्यमी सम्मान तथा “समानता, सम्मान र समावेशिताका लागि सामूहिक प्रतिबद्धता” कार्यक्रम शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । कर्णाली इन्द्रेनी आवाजका अध्यक्ष अन्जली बुढाथोकीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रमको सञ्चालन बाल अधिकारका लागि साझा अभियान (CCR) कर्णालीका सचिव टेकराज आचार्यले गरेका थिए ।

कार्यक्रममा LGBTQIA+ समुदायप्रति समान व्यवहार, सम्मान र समावेशी वातावरण सुनिश्चित गर्ने उद्देश्यले १० बुँदे सामूहिक प्रतिबद्धतापत्र सार्वजनिक गरिएको थियो । प्रतिबद्धतापत्रमा समावेशी रोजगारीका अवसर सिर्जना गरी आर्थिक सशक्तीकरणमा सहयोग गर्ने, उद्यमशीलता विकास तथा सीपमूलक तालिमलाई निरन्तरता दिने, सुरक्षित र भेदभावरहित कार्यस्थल निर्माण गर्ने, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा समान पहुँच सुनिश्चित गर्ने लगायतका विषय समेटिएका छन् ।

यसैगरी, मानव अधिकार संरक्षण, लैङ्गिक समानताको प्रवर्द्धन, हिंसा तथा भेदभावविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, LGBTQIA+ समुदायका उद्यमी, युवा तथा प्रतिभाशाली व्यक्तिलाई प्रोत्साहन गर्ने, सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने तथा समानता, सम्मान र समावेशिता सम्बन्धी जनचेतनामूलक अभियानलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अशोकनाथ योगीले नेपाल समावेशी र प्रगतिशील बाटोमा अघि बढिरहेको उल्लेख गर्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अधिकार संरक्षणप्रति राज्यको प्रतिबद्धता निरन्तर सुदृढ हुँदै गएको बताए ।

उनले मन्त्रालयको संरचनामै मौलिक तथा अल्पसंख्यक सम्बन्धी व्यवस्था गरिएको उल्लेख गर्दै कर्णाली प्रदेश सरकार यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार, सम्मान र समावेशिताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको धारणा राखे । कार्यक्रमका अवसरमा सीसीआर कर्णालीका अध्यक्ष सोनु चौधरीलाई LGBTQIA+ समुदायको अधिकार, समावेशिता तथा सामाजिक न्यायको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा उपस्थित सरोकारवालाहरूले १० बुँदे सामूहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै समानता, सम्मान र समावेशितामा आधारित समाज निर्माणका लागि सक्रिय सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।