उपल्लो डोल्पाका सम्पर्क कार्यालय दुनैमा

रुकुम पश्चिम — डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–७ का छेन्दु लामा २०७७ भदौमा उपचार छुटका लागि सिफारिस लिन गाउँपालिकाको केन्द्र साल्दाङ पुगे । तर, त्यहाँ कार्यालय सुनसान थियो । कर्मचारी खोज्दै उनी दुई दिन पैदल हिँडेर दुनै पुगे । ‘गाउँमै एकछिनमा हुने कामका लागि दुनैसम्म पुग्नुपर्‍यो,’ उनले गुनासो गरे, ‘गाउँमा सरकार आयो भन्नुमात्र भयो, हाम्रा दुःख झन् बढेका छन् ।’

संघीयताले गाउँमा अधिकार पुर्‍याए पनि सामान्य सिफारिसका लागि दुनै धाउनुपर्ने बाध्यता भोग्ने छेन्दु एक्लो होइनन् । उपल्लो डोल्पाका शे–फोक्सुन्डो, छार्कातान्साङ र डोल्पोबुद्ध तथा दक्षिणी भेगमा पर्ने काइके गाउँपालिकाका कर्मचारी दुनैमै बस्दा सर्वसाधारणले ठूलो सास्ती खेपिरहेका छन् । तीनवटै गाउँपालिकाको केन्द्र गाउँमै रहे पनि सम्पर्क कार्यालय भने दुनैमा छन् । कर्मचारीहरू विभिन्न बहाना बनाएर दुनैमा बस्ने गरेका छन् ।