सुर्खेत : दाेश्राे भ्यारियन्ट काेभिड संक्रमणले बन्द भएका सुर्खेतका सामुदायिक तथा निजी विद्यालयहरु आउने सातादेखि खुल्ने भएका छन्।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको विहीवार बसेको बैठकले स्मार्ट लकडाउन सम्वन्धी कार्यविधि अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी आगामी सातादेखि खुलाउने निर्णय गरेको छ ।
विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अवस्था अनुसार खुलाइने छ । सुर्खेतका स्थानीय तह नौ मध्ये ६ वटा स्मार्ट लकडाउन कार्यविधि अनुसार , हरियाे क्षेत्रमा रहेका विद्यालय भौतिक रुपमा खुलाउन सकिने भए पनि वीरेन्द्रनगर नगरपालिका राताे क्षेत्रमा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका पहेलाे क्षेत्रमा रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार, आउने सातादेखि सुर्खेतका सवै सामुदायिक र संस्थागत विद्यालयहरु मापदण्ड निर्धारण गरेर खुल्ने छन् । रिजालले काेभिड जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याव्सन, एनप्याव्सनको सहभागितामा दुई-तीन दिनभित्र मापदण्ड निर्माण गरि प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुलाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन् ।
मापदण्ड निर्धारणमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको संयोजकत्वमा वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याव्सन, एनप्याव्सन, शिक्षक महासंघ र शिक्षक अभिभावक संघ सदस्य सहितकाे एक कार्यदल गठन गरिएको छ । कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा पेश गर्ने छ र साे अनुशार विद्यालय खुलाइने छ ।
कार्यविधि संवाददाता । १८ भाद्र २०७८, शुक्रबार २०:३५ बजे