केबलकार आजदेखि सञ्चालनमा, पूजा मन्दिर बाहिरबाटै

गोरखा :  गोरखामा  रहेकाे मनकामना केबलकार आज आइतबारदेखि पुन: सञ्चालनमा आएकाे छ ।  दाेश्रो  काेभिड भ्यारियन्ट  संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार सञ्चालनमा आएकाे मनकामना दर्शन प्रालीले जानकारी दिएकाे छ ।

मनकामना दर्शन प्रालीका नायव प्रबन्धक उज्वल सेरचनका अनुशार ,   जिल्ला काेभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णय अनुसार केबलकार सञ्चालनमा आए पनि पूजा भने मन्दिर बाहिरबाटै गर्नु पर्ने छ । केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए । प्रालीका सेरचनले भने ,  ‘भाैतिक दूरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड सबैले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।’

मनकामना दर्शन  प्रालीले चितवनको कुरिनटारबाट गोरखा सहिद लखन गाउँपालिकाकाे  मनकामना मन्दिरसम्म केबलकार सञ्चालन गर्दै आएको छ ।डिसिसिएमसी गोरखाले  निषेधाज्ञा  हटाएको पछि  संक्रमणको जोखिम मध्येनजर गर्दै भक्तजनलाई बाहिरबाटै पूजाकाे व्यवस्था मिलाइएको छ ।