जनहितकारीको साधारणसभा

जनहितकारी बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार भर्चूअल माध्यमबाट साधारणसभा गरिएको हो ।

कोरोना संक्रमणको जोखिमका कारण सहकारीले प्रविधिको प्रयोग गर्दै साधारणसभा सम्पन्न गरेको संस्थाका अध्यक्ष हरिहरनाथ योगीले बताए । सभामा अध्यक्ष योगीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले कोरोना महामारीको प्रभाव र राहतको व्यवस्था, प्रविधिमैत्री सेवाको विस्तारमा प्राथमिकता, सदस्य सेवा सहयोग र सामाजिक उत्तरदायित्व, सम्पत्ति शुद्धिकरण निवारण तथा श्रम रोजगार ऐन निर्देशनको पालना लगायतका विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको जनाए ।

सहकारीका कोषाध्यक्ष नवराज कँडेलले आर्थिक वर्ष २०७७/०७८ मा शेयर पुँजीतर्फ ९३ लाख १९ हजार रूपैयाँ वृद्धि भएर पाँच करोड ८४ लाख ७७ हजार पुगेको जानकारी दिए । उनका अनुसार जगेडाकोषतर्फ तीन करोड ७२ लाख ७० हजार रूपैयाँ रहेको छ भने कुल सम्पत्ति ६३ करोड ६० लाख २२ हजार पुगेको छ । संस्थाले ५० करोड ७९ लाख २१ हजार ऋण लगानी गरेको छ । ५२ करोड १० लाख ५२ हजार कुल बचत गर्न सफल भएको कँडेलले जनाए ।

साधारणसभा उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले सहकारीले जनताको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवि उप्रेतीले जनपक्षिय कार्यक्रम गरेको भन्दै सहकारीको प्रशंसा गरे । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका कार्यपालिकाका सदस्य तथा वडा नं. ४ का अध्यक्ष नीलकण्ठ खनाल, कर्णाली प्रदेश सहकारी विभागका रजिष्ट्रार खेमराज शर्मा, सिए छविलाल आचार्य लगायतले शुभकामना दिएका थिए ।