आज पर्वहरु मनाउने क्रममा कात्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामका साथ छठ पर्व मनाइँदै छ । दशैं र तिहार पर्वपछि महान पर्व छठ पर्ने गर्छ । सूर्य र उनको देवी रूप उषालाई छठी मैयाँको रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ पर्न गएको हो।
आस्था र सहअस्तित्वको पर्व छठको तेस्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ। मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले प्रत्येक बर्ष प्रगाड बनाउँदै आइरहेको छ। मानव जातिको पीडाप्रति सजग गरी छठ पर्वले हरेक बर्ष दीपावली समाप्तिपछि मानव र प्रकृतिबीच हराउँदै, बिलाउँदै, लोप हुँदै गइरहेको संवेदनशील रागात्मक, अटुट संवाद—सम्बन्धको सुत्रधारलाई सबलीकरण गर्दै मानव र प्रकृतिबीच सम्बन्धलाई डोरीको गाँठो जस्तो बाँधने काम गर्छ।
भनिन्छ, ‘भक्त र भगवानसँग सीधा वार्तालाप छठ पर्वमा हुन्छ।’ यो नै एउटा पर्व हो, जसमा पुजारी र पुरोहित आवश्यक पर्दैन। छठमा अर्घ दिइने सूर्य भगवान प्रत्यक्ष देखिन्छ। त्यसैले पुजारी चाहिदैन। छठ उत्सव मनाउँदा परिवारका युवा सदस्यले धार्मिक विधि अवलोकन गरिरहेका हुन्छन्।
अवलोकनसँगै विधिहरू सिधै सिक्ने र यो क्रम नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ। केहीले छठ घाटमा सूर्य भगवानको मूर्ति निर्माण गरी ब्रतालु सूर्यलाई नमस्कार गर्छन्। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदा पनि पुजारी आवश्यक पर्दैन । व्रतालुहरू सूर्यमन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्छन्।
छठ शब्द संस्कृतको ‘षष्ठी’ शब्दबाट विकसित भएको इतिहास छ। चार दिवशीय छठ ब्रतमा सबै भन्दा कष्ठ, कठिनाई, दौडधुप, श्रम—शक्ति र महत्वको हिसाबले कात्तिक शुक्लषष्ठीको दिनै हुन्छ। कात्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामका साथ मनाइने निकै चर्चित पर्वको नाम हो छठ। यो पर्व षष्ठी पूजाको अपभ्रंशका रूपमा आएको हो। यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ। अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो व्रत भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन हुने गर्छ। निकै पवित्र, सफा सुग्घर र निष्ठापूर्वक मनाइने लोकपर्व धेरै दृष्टिकोणबाट मननयोग्य छ।
कार्यविधि संवाददाता । २४ कार्तिक २०७८, बुधबार ०६:४९ बजे