काठमाडौं । देशभर सक्रिय रहेको वर्षा गराउने मौसमी प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जारी बदली मौसम अझै केही दिन कायम रहने देखिएको छ।
आज मंगलबार पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरीसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। अन्य प्रदेशका थोरै क्षेत्रमा पनि हल्का वर्षा हुन सक्ने बताइएको छ।
साँझपखदेखि रातिसम्म ती प्रदेशहरूमा बदली कायमै रहनेछ भने केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार पनि मौसममा खासै सुधार आउने संकेत देखिएको छैन। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी तथा हिमाली भू–भागमा बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ। तराईका केही क्षेत्रमा भने हल्का वर्षा मात्र हुन सक्ने जनाइएको छ।
विभागले हावाहुरी, चट्याङ र सम्भावित भारी वर्षाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।


कार्यविधि संवाददाता । २२ बैशाख २०८३, मंगलवार ०८:१४ बजे