प्रेस युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

नेपाल प्रेस युनियनको नवौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदैछ।

शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा जारी अधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ। दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ।

अधिवेशनमा एक हजार ६ सय ३० जनाले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निकट पत्रकारको दुई वटा प्यानल छन्।

संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहने गरी विधानमा व्यवस्था गरेको छ ।
जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।
त्यस्तै, केन्द्रीय लेखा समितिमा संयोजक १ र सदस्य ४ जना समेत गरी ५ सदस्य रहने व्यवस्था छ । यस्तै कुल १२० वटा पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको छ । दुई पदका लागि कुनै पनि मनोनयन दर्ता भएको छैन भने उम्मेदवारी परेका ३१ पदमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको छ ।मनोनयन दर्ता नभएको पदमा अल्पसङ्ख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद रहेका छन् ।

अल्पसङ्ख्यक महिला केन्द्रीय सदस्यतर्फ १ जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन । उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा २ जनाको कोटामा १ जनाको मात्रै मनोनयन दर्ता भएको छ । बाँकी ८७ पदका लागि भने आज निर्वाचन हुँदैछ । यसका लागि १७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।