धनुषामा नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रदर्शन गरिएको छ। राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गरिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि आक्रामक बन्दै जसपाले जनकपुरधाममा राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको छ।
सोमबार जसपा, लोसपा, जनमत पार्टीका साथै नागरिकताविहीनहरू ठाउँठाउँमा प्रदर्शन गरेका छन्। यसैक्रममा जनकपुरधामको जनक चौकमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरू राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको हो। उनीहरु राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका हुन्।
सो क्रममा एकजना सशस्त्र प्रहरीका एक जवानको शरीरमा आगो समेत लागेको छ। यद्यपी उनी सकुशल रहेको बताइएको छ।
जसपाका नेता तथा कार्यकर्ताहरू राष्ट्रपति भण्डारीको राजीनामा समेत माग गरेका छन्।
नागरिकताबाट वञ्चित भई दुख भोगिरहेको लाखौँ युवाको भविष्य र जीवनको बेवास्ता गर्दै राष्ट्रपतिबाट यस्तो कदम उठाइनु विरोध र खेदजनक रहेको जसपा नेताहरूको भनाइ छ।
विरोध प्रदर्शनमा जसपाका नेताहरु जनकपुरधामका पूर्व मेयर लालकिशोर साह, नेताहरु विष्णुदेव साह, जितेन्द्र यादव, नवीन यादवलगायतका सहभागी भएका थिए।
आइतबार राष्ट्रपतिले दुवै सदनबाट पारित भइसकेको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरि पुनः प्रतिनिधिसभामा फिर्ता पठाएपछि मधेशमा चौतर्फी विरोध हुन थालेको हो।
त्यसैगरी जनमत पार्टीले पनि नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गरेको छ। राष्ट्रपति भण्डारीले चालेको कदम विरुद्ध सिरहामा जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।
यता राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले धनुषाको ढल्केवरमा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए।
सोमबार बिहान कांग्रेसको मिथिला नगरपालिकाका सभापति जोगी महतोको नेतृत्वमा नेता तथा कार्यकर्ताहरूले आधा घण्टा राजमार्गमा चक्काजाम गरेका थिए। केन्द्रको निर्देशन बमोजिम राजमार्ग बन्दको कार्यक्रम गरिएको कांग्रेसका क्षेत्रीय सचिव बुधेश्वर महतोले बताए।
प्रदर्शनको क्रममा नागरिकता पीडितहरूको सहभागिता रहेको थियो। उनीहरूले राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए। बन्दकर्ताहरूले मोटरसाइकल समेत रोकेपछि केहीबेर तनाव उत्पन्न भएको थियो। नेपाल भिउजबाट
कार्यविधि संवाददाता । ३० श्रावण २०७९, सोमबार २१:५५ बजे