पार्टिकाे ‘प्रचार गरेपछि’ नगरपालिका अधिकृतलाई आयोगले सोध्यो स्पष्टीकरण

राजनीतिक दल र उमेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा निर्वाचन आयोगले सप्तरीको राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवलाई  २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवको प्रचारप्रसार गरेको भनी आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन ।

सोही दफाको खण्ड (ख) अनुसार निजहरूले राजनीतिक दल वा उमेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन हुँदैन भन्ने व्यवस्था रहेको छ ।

पत्र प्राप्त भएपछि २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सप्तरीमा प्राप्त हुने गरी स्पष्टीकरण  दिने  भनिएको छ ।