आजदेखि छठपर्व शुरु

धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ ।  यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन् ।

धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिन्छ ।   छठ विधिवत् रुपमा मनाउने कार्यका लागि चहलपहल शुरु भइसकेको देखिन्छ । यतिखेर ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ  मनाउनका लागि पोखरीको डिल र नदी किनारको सरसफाइ शुरु भइसकेको छ ।

छठ  मनाउनका लागि आवश्यक पर्ने सरसमानको किनमेलका साथै नयाँ माटाका भाँडाकुडा र बाँसको टोकरी तथा कोनियाको खरिदारीमा जुटेका देखिन्छ । भगवान सूर्यको पूजाअराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात आजदेखि शुरु भएको छ ।

अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने वर्तालुले कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात आजदेखि शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् ।

आरोग्यं भास्कर दिच्छेत मूल उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा कतिपय वर्तालुले परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पूरा भएपछि पर्व शुरु गरेका हुन्छन् । पर्व मनाउने परिवारका कुनै व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जोकोही वर्तालुले तिनीहरुको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिने समेत सुविधा रहेको छ । धार्मिक ग्रन्थ पुराणमा उल्लेख गरिएको छ, “शौनकमुनिले सुतजीसमक्ष पृथ्वीमा थुप्रै मानिस रोगले ग्रस्त, कतिपयलाई सन्तान छैन् यस्ता व्यक्तिका कल्याणका लागि कुनै उपाय छ कि छैन् भनेर जिज्ञासा राख्दा उहाँले प्राचीन कालमा एक दुष्ट क्षत्रीय राजा यक्ष्मा रोगबाट पीडित थिए ।

एक ब्राम्ह्मणको सल्लाहमा उनले सूर्यदेवको विधिवत् रुपमा चार दिनसम्म छठ पर्वको रुपमा पूजापाठ गरेपछि सो रोगबाट मुक्ति पाए । त्यसपछि, यो पर्वले विधिवत् रुपमा शुरु भएको विश्वास गरिन्छ ।”