सुर्खेतमा प्रशासनको आग्रह , मतदातालाई ढुक्क भएर मतदान गर्न

आइतबार (भोलि) हुने व्यवस्थापिकाकाे  प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ ।

बिहान ७ बजेबाट देशभर एकैसाथ सुरु हुने मतदानका लागि जिल्लामा पनि सम्पूर्ण तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

जिल्लामा कुल मतदाता  संख्या २  लाख ४२  हजार ६ सय १४  रहेको छ ।  १ सय ३४ मतदान स्थलका  २ सय  ९३  वटै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मीहरु पुगेर मतदान स्थल निर्माण गर्ने, सर्बदलीय बैठक बस्नेलगायतका सबै काम सम्पन्न गरिसकेकाे  प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले  बताएका  छन्  ।

प्रदेशसभा तर्फ ४ र प्रतिनिधि सभा तर्फ २ वटा निर्वाचन क्षेत्र रहेको  सुर्खेतमा  निर्वाचनका लागि २ हजार ३ सय ४४ जना  कर्मचारी खटिएका छन् ।  निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष, पारदर्शी र सौहार्दपूर्ण बातावरणमा सम्पन्न गराउन ३  हजार ३  सय ५  सुरक्षाकर्मी तैनाथ गरिएको छ । जसमा १ हजार २ सय ५० जना  नेपाल प्रहरी, ४ सय नेपाली सेना, ४ सय ५  सशस्त्र प्रहरी र १ हजार २ सय ५० जना म्यादी प्रहरी रहेका छन् ।

त्यस्तै कुनैपनि मतदान स्थलमा थप सुरक्षाकर्मी आवश्यक परेको खण्डमा  १५ देखी ३०  मिनेटकाे समयमा  तत्काल परिचालन हुने गरी सुरक्षा ब्यवस्था मिलाईएको भन्दै प्रजिअ रिजालले  प्रत्येक मतदान केन्द्रको बाहिरी घेरामा सशस्त्र प्रहरी वा नेपाली सेनाले सुरक्षा दिने बताए ।

सुरक्षाका हिसाबले मतदाता त्रसित हुनुपर्ने अवस्था नरहेको भन्दै रिजालले  उत्साहका साथ ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन ।