सीडीओ सरुवासम्बन्धी नयाँ कार्यविधि स्वीकृत

प्रमुख जिल्ला अधिकारीको सरुवा गर्न र पहिलोपटक प्रजिअ पठाउन गृह मन्त्रालयले नयाँ कार्यविधि तयार गरेको छ । बुधवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधवार कार्यविधि स्वीकृत गरेका छन् । प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि –२०७९ अनुसार वरिष्ठ अधिकृतहरुको प्राथमिकता पाउने छन् । सह–सचिवको दरबन्दी भएको ‘क’ वर्गको जिल्लामा प्रजिअ हुन राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतले गृह मन्त्रालय वा विभागमा एक वर्ष काम गर्नुपर्ने छ ।

उपसचिव प्रजिअ हुने १६ वटा जिल्लामा खटिन पाँच वर्ष प्रशासनिक क्षेत्रको कार्य अनुभव हुनुपर्ने कार्यविधि बनेको छ । प्रजिअ बन्न कानुनमा स्नातक गनुपर्ने वा मान्यता प्राप्त संस्थाबाट ३ महिनाको न्याय तथा कानुन सम्बन्धी तालिम अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयले बनाएको नयाँ कार्यविधि अनुसार उप–सचिव सिधै प्रमुख जिल्ला अधिकारी हुन पाउँदैनन् । उप–सचिव प्रजिअ हुन इलाका प्रशासन प्रमुख वा सहायक प्रजिअ भएर कम्तीमा १ वर्ष काम गरेको हुनु पर्नेछ । काठमाडौं उपत्यकामा सीडीओ हुनका लागि ‘ख’ र ‘ग’ वर्गका जिल्लामा प्रजिअ भएर चलाएका अधिकृतले मात्रै अवसर पाउने छन् । सह–सचिवको दरबन्दी भएको ६१ जिल्लालाई ३ तहमा वर्गीकरण गरिएको छ । काठमाडौं सहितका १२ वटा जिल्लालाई ‘क’ वर्गमा राखिएको छ ।

प्रदेश राजधानी भएको जिल्लामा जान अन्यत्र प्रजिअ भएको वा मन्त्रालयमा काम गरिसकेको हुनुपर्छ ।  कार्यसम्पादन सम्झौता मूल्यांकनमा ९० प्रतिशतभन्दा कम अंक ल्याउने प्रजिअहरुले तत्काल अर्को जिल्लामा प्रजिअ नपाउने गरी कार्यविधि पारित गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सहसचिवको अभाव भएको अवस्थामा उप–सचिवमा ५ वर्ष पुरा काम गरेका अधिकृतले मात्रै सहसचिवको दरबन्दी भएको जिल्लामा गएर प्रजिअ हुन पाउने छन् । एउटा प्रदेशमा एक वर्ष अवधि काम गरेका अधिकृतलाई सो प्रदेशको अर्को जिल्लामा प्रजिअ हुने नपाउने कार्यविधिमा व्यवस्था गरिएको छ ।

सहसचिवलाई पहिलोपटक प्रजिअ खटाउँदा ‘ख’ र ‘ग’ बर्गको जिल्लामा मात्र खटाउने कार्यविधिमा व्यवस्था छ । तर, मन्त्रालयको महाशाखा प्रमुख वा विभागमा महानिर्देशक भएर १ वर्ष काम गरेको अधिकृतलाई ‘क’ वर्गमा खटाउन सकिने व्यवस्था गरिएको छ ।

‘क’ वर्गको जिल्लामा प्रजिअ भइरहेको अधिकृत तत्काल अर्को ‘क’ वर्गको जिल्लामा जान पाउने छैनन् । तर, कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट तीन जिल्लाका प्रजिअ भने ‘क’ बाट ‘क’ वर्गकै जिल्लामा जान पाउनेछन् । प्रमुख जिल्ला अधिकारीको काम गर्ने अवधि १ वर्ष कायम गरिएको छ । तर, २०७९ वैशाख १ अघि खटिएकालाई अन्त सरुवा गर्न बाधा नपर्ने गरी कार्यविधि पारित गरिएको छ ।  राताेपाटीबाट