गण्डकीमा ७ मात्रै मन्त्रालय रहने

अब गण्डकी प्रदेशमा  मन्त्रालयको सङ्ख्या १२  बाट घटेर ७ मात्र रहने छ ।

मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार सत्तारुढ गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार ७ मन्त्रालय राख्ने निर्णय गरिएको छ  । अब गण्डकीमा एमालेका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री रहने छन् ।

माओवादीले अन्तिम समयसम्म पनि १० मन्त्रालय हुनुपर्ने अडान लिएको थियो । मुख्यमन्त्री खगराज अधिकारीले भने सुरु देखि नै ७ मन्त्रालय बनाउने आन्तरिक गृहकार्य गरेका थिए ।  केन्द्रको निर्देशन र दलहरुबीच छलफल गरेर २०७४ सालकै मन्त्रालय सङ्ख्या कायम गर्न लागिएको हाे  ।

अहिले गण्डकीमा १२ मन्त्रालय छन् । २०७८ सालमा सरकार तलमाथि भएपछि तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ७ मन्त्रालय फुटाएर ११ पु¥याएका थिए । पछि कांग्रेस नेतृत्वमा सरकार बनेपछि मन्त्रालय थपिएर १२ पुगेको थियो ।

देशकाे आर्थिक अवस्थालाई हेरेर   नयाँ सरकार आएपछि सबैभन्दा बढी प्राथमिकताका साथ मन्त्रालय घटाउने पहल थालेको हो । मन्त्रालयको सङ्ख्या ७ राख्ने सहमति भए पनि नाम भने नटुङ्गिएको सरकारका प्रवक्ता सीता कुमारी सुन्दासले जानकारी दिइन् ।

उनका अनुसार नाम सोमबार बिहान बस्ने मन्त्री परिषद् बैठकले टुंगो लगाउने छ ।