प्रहरी : सुर्खेतमा हालसम्म होली शान्तिपूर्ण

सुर्खेत : आज(सोमबार) होली पर्व शान्तिपूर्ण रुपमा मनाउने क्रम चलिरहेको  छ ।

हाल सम्म जबरजस्त रंग दल्न खाेज्ने दुई  पुरुष मात्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मण बहादुर शाहीले जानकारी दिए।

प्रवक्ता शाहीका अनुसार बुलबुले उद्यान भित्र जबरजस्त रंग दल्न खाेज्ने दुई  पुरुषलाई नियन्त्रणमा लिइएको छ। अहिले उनलाई जिप्रका सुर्खेतमा राखिएको छ।

‘अहिले अरू केही घटना घटेको छैन, सुर्खेतमा  शान्तिपूर्ण तरिकाले होली मनाइरहेको पाइएको छ,’उनले भने। आज फागु पर्व। सुर्खेत उपत्यका सहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ।

होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।

होली पर्वलाई मध्यनजर गरी वीरेन्द्रनगर भित्र १५ सहित  प्रहरी कार्यालयले जिल्लामा विभिन्न ३०  स्थानमा साना ठुला चेक पोईन्ट राखेको छ।

त्यस्तै विभिन्न स्थानबाट मोवाईल भ्यानले  नियमित गस्ती समेत गरिरहेको छ। अहिले ट्राफिक चेकिङ ७ ठाउँमा  कडाइ गरिएको प्रहरीले जनाएकाे छ।